लगातार दोश्रो जितपछि कप्तान सन्दिप तथा कीर्तिमानी कुशलले के भने

टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा ओमानलाई पराजित गरेपछि शनिवार फिलिपिन्सलाई दोश्रो खेलमा पराजित गरेपछि नेपाली राष्ट्रिय टिमका कप्तान सन्दिप लामिछानेले उत्कृस्ट प्रदर्शन गरेका कुशल भुर्तेल र दिपेन्द्र ऐरीको तारिफ गरेका छन्।

खेलमा कुशलले करियरको पहिलो शतक बनाउने क्रममा ६१ बलमा १०४ रन बनाए भने दिपेन्द्रले करियरकै उच्च ४७ बलमा ८३ रन बनाए। यस क्रममा दुवैले तेश्रो विकेटको लागि १७१ रनको साझेदारी गरे। यो साझेदारी तेश्रो विकेटको लागि टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै तेश्रो ठूलो साझेदारी हो। यस्तै कुनै पनि विकेटको लागि टि-२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक साझेदारी हो।

“यो देख्नु गजबको थियो, प्रत्येक पटक उनीहरुले बललाई मिडल गरेका थिए। उनीहरुको ब्याटिंग सुन्दर थियो।” खेल पछि कप्तान सन्दिपले कुशल र दिपेन्द्रको तारिफ गरे।

खेलमा नेपालले गुल्सन झा र कुशल मल्ललाई मौका दिएको थियो जसको प्रदर्शन तथा नेपालले फिलिपिन्सलाई अलआउट गर्न नसकेकोमा उनले असन्तुष्टि व्यक्त गरेता पनि जितमा खुसि व्यक्त गरे “उनीहरुलाई ( गुल्सन र कुशल मल्ल ) मौका दिन चाहन्थ्यौ। अझै त्यति खुसि छैन किनकि हामीले उनीहरुलाई अल आउट गर्न सकेनौं। हामीले भिन्न परिस्थितिमामा विकेट लिन सिक्नु पर्छ जुन हामीले सिक्नु पर्ने महत्वपूर्ण पाठ हो। त्यो पक्षमा काम गर्नु परेता पनि जितबाट खुसि छौँ।”

क्यानडासंग सोमबारको समुह चरणको अन्तिम खेलमा जित दर्ता गरेको खण्डमा नेपाल समुह ‘बि’ को विजेताको रुपमा सेमीफाइनल पुग्नेछ। सन्दिपले खेलको लागि आत्मविश्वास व्यक्त गरे – “हामीले उनीहरुसंग आफ्नो क्षमता अनुरुप खेल्ने हो भने हामि अघिल्लो चरण पुग्ने छौँ।”

“यी इनिंग्स मेरो लागि महत्वपूर्ण थियो”- कुशल भुर्तेल

यस्तै प्लेयर अफ द म्याच चुनिएका कुशलले आजको इनिंग्स आफ्नो लागि महत्वपूर्ण रहेको बताए – “क्यानडासंग खेल्नु अघि यो इनिंग्स मेरो लागि महत्वपूर्ण थियो। मैले पछिल्लो दुई खेलमा रन बनाउन सकेको थिईन त्यसैले यो खेलमा रन बनाउने सोचेको थिएँ।”

दिपेन्द्रसंग कीर्तिमानी साझेदारी गरेका उनले एकअर्का बीच राम्रो समझदारी रहेको बताए – “उनि मेरो उत्कृस्ट पार्टनर हुन्, उनिसंग मेरो समझदारी राम्रो छ। उनिसंग २०१४ देखि खेलीरहेको छु र हामि एक अर्कालाई राम्रो बुझ्ने गर्छौं।”

उनले आफू पूर्णतः फिट नभएको बताए – “पछिल्लो केहि साता देखि ग्रोईनमा समस्या छ त्यसैले म पूर्णतः फिट छैन। उनले आगामी खेलमा पूर्णतः फिट हुने बताए।”

२०७८ फाल्गुन ७, शनिबार मा प्रकाशित