ओमानमा जारि टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिताको दोश्रो दिन शनिवार सम्पन्न चारवटा खेलहरुमा नेपाल सहित आयोजक ओमान, युएई र आयरल्याण्ड विजयी भएका छन्। समुह ‘बि’ अन्तर्गत खेलमा नेपालले फिलिपिन्सलाई तथा ओमानले क्यानडालाई तथा समुह ‘ए’ अन्तर्गत खेलमा युएईले जर्मनीलाई तथा आयरल्याण्डले बहराईनलाई पराजित गर्यो।
नेपाल-फिलिपिन्स : नेपालले दिएको २१९ रन लक्ष्य पछ्याउने क्रममा फिलिपिन्सले २० ओभरमा ८ विकेट क्षेतीमा ८२ रन बनायो। नेपालको १३६ रनको जितमा कुशल भुर्तेलले १०४ तथा दिपेन्द्र ऐरीले ८३ रन बनाए भने बलिंगतर्फ सन्दिप लामिछानेले ३ तथा गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहरा, कुशल मल्ल र दिपेन्द्र ऐरीले १/१ विकेट लिए।
आयरल्याण्ड-बहराईन : समुह ‘ए’ अन्तर्गतको खेलमा आयरल्याण्डले बहराईनलाई २२ रनले पराजित गर्यो जुन क्रममा आयरल्याण्डले दिएको १५९ रन लक्ष्य पछ्याएको बहराईनले २० ओभरमा ५ विकेट क्षेतीमा १३७ रन मात्र बनाउन सक्यो। आयरल्याण्डको लागि ब्याटिंगतर्फ गेरेथ डेलानिले अविजित ५१ रन, कप्तान एन्डी बालबर्नीले ३३ रन, पल स्टरलिंगले ३२ तथा जर्ज डकरेलले २४ रन योगदान दिए। बहराईनका बलर जुनैद अजिजले २ तथा इमरान अनवर र सरफराज अलिले १/१ विकेट लिए। बहराईनको ब्याटिंगमा सथैया भिरापाथीरानले ३३, मुहमद युनिसले ३० तथा डेभिड माथिएसले २८ रन बनाए। आयरल्याण्ड बलर क्रेग योंगले ३ तथा सिमि सिंह र एन्डी बालबर्नीले १ विकेट लिए।
जर्मनी-युएई : समुह ‘ए’ अन्तर्गत दोश्रो खेलमा युएईले जर्मनीलाई २५ रनले पराजित गर्यो जुन क्रममा १९२ रनको लक्ष्य पछ्याएको जर्मनीले २० ओभरमा ९ विकेट क्षेतीमा १६७ रन बनायो। जर्मनीका ओपनर जस्टिन ब्रोडले राम्रो ब्याटिंग गर्दै सर्वाधिक ६२ रन तथा फैसल मुबासिरले २३ रन बनाएता पनि जित्न पर्याप्त रहेन। युएईका बलर काशिफ दाउदले ४ विकेट, रोहन मुस्तफा र जुनैद सिद्दिकीले २/२ विकेट तथा बसिल हमिदले १/१ विकेट लिए। टस जितेर ब्याटिंग गरेको युएईको लागि ओपनर चिराग सुरीले सर्वाधिक ८१ रन, मुहम्मद वासिमले ५० रन तथा भृत्य अरविन्दले ४० रन बनाए। जर्मनीका बलर फयाज खानले २ तथा मुस्लिम यारले २ विकेट लिए।
ओमान-क्यानडा : समुह ‘बि’ अन्तर्गतको पहिलो खेलमा ओमानले क्यानडालाई ९ विकेटले पराजित गर्यो जुन क्रममा १५६ रनको लक्ष्य १ विकेट क्षेतीमा १८ ओभरमा भेटायो। ओमानको जितमा कप्तान जिशान मक्सुदले सर्वाधिक ७६ तथा कश्यप प्रजापतिले ७४ रन बनाए। क्यानडाको ब्याटिंगमा रभिन्दरपाल सिंहले ४६, रायन पठानले २६ रन बनाए। ओमान बलर फयाज बटले २ तथा बिलाल खान, कलेमुल्लाह र जिशन मक्सुदले १/१ विकेट लिए।
अंकतालिका र सेमीफाइनल सम्भावना
समुह ‘ए’ : चारवटै टिमले २/२ खेल खेल्दा अंकतालिकामा युएई ४ अंक सहित पहिलो स्थानमा छ। युएईले अन्तिम खेलमा बहराईनलाई पराजित गरे समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश गर्नेछ भने पराजित भएको खण्डमा पनि सम्भावना जिवित रहनेछ । दुवै खेलमा हार पछि जर्मनीको सेमीफाइनल सम्भावना सकिएको छ। आयरल्याण्डले अन्तिम खेलमा जर्मनीलाई पराजित गरे सेमीफाइनल पुग्नेछ। जर्मनीले आयरल्याण्डलाई पराजित गरेमा भने युएई र बहराईनको खेलपछि सेमीफाइनल पुग्ने टिमको टुंगो लाग्नेछ।
समुह ‘बि’ : लगातार दुई जितपछि बलियो नेट रन रेट ( +४.३७५ ) को साथ नेपालले सेमीफाइनल सम्भावना बलियो बनाएको छ। यदी नेपालले अन्तिम खेलमा क्यानडालाई पराजित गरे समुह विजेताको रुपमा सेमीफाइनल पुग्नेछ। नेपाल पराजित भएको खण्डमा तथा ओमानले फिलिपिन्सलाई पराजित गरेको खण्डमा नेपाल, ओमान र क्यानडाको समान ४ अंक हुने हुँदा नेट रन रेटमा अघि हुने दुई टिम सेमीफाइनल पुग्नेछ। नेट रन रेटमा नेपाललाई पछि पर्न ओमानले फिलिपिन्सलाई तथा विशाल अन्तरले तथा क्यानडाले नेपाललाई पनि राम्रो अन्तरले पराजित गर्नुपर्नेछ। नेपालले थोरै अन्तरको हार बेहोरेको खण्डमा पनि नेट रन रेटमा क्यानडा भन्दा अघिनै हुनसक्छ। ओमानले फिलिपिन्सलाई पराजित गर्यो र नेपालले क्यानडालाई पराजित गर्यो भने ओमान र नेपाल सेमीफाइनल पुग्नेछ। क्यानडा सेमीफाइनल पुग्न नेपाललाई पराजित गर्नुपर्नेछ भने संगै ओमानले फिलिपिन्सलाई पराजित गरे पनि नेट रन रेटमा ओमान पछि रहनुपर्छ।
प्रतियोगिताको समुह चरणका बाँकी खेलहरु :- आयरल्याण्ड vs जर्मनी र युएई vs बहराईन, ओमान vs फिलिपिन्स, नेपाल vs क्यानडा ( चारवटै खेल फेब्रुअरी २१ तारिखमा हुनेछन् )