ओमानमा जारि टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले क्यानडासंग प्रतिस्पर्धा गर्दैछ। खेल सोमबार ( फेब्रुअरी २१ ) नेपाली समय दिउँसो ३:४५ बजे अल अमिरात मैदानमा सुरु हुनेछ।
टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र क्यानडा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। दुई देश बीच अन्तिम पटक टि-२० क्रिकेटमा भेट युएईमा सम्पन्न २०१२ को टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा भएको थियो जुन खेलमा नेपाललाई क्यानडाले १८ रनले पराजित गरेको थियो । त्यसपछि दुई देश बीच २०१४ को एकदिवसीय विश्वकप छनोटमा तथा त्यसपछि २०१५ र २०१८ मा विश्व क्रिकेट लिग डिभिजन-२ को खेलमा भएको छ। २०१८ फेब्रुअरीमा क्यानडा बिरुद्ध करन केसी र सन्दिप लामिछानेले दशौँ विकेटको लागि ५१ रनको साझेदारी गर्दा नेपाल १ विकेटले विजयी हुँदै एकदिवसीय विश्वकप छनोट खेल्न छानिएको थियो।
कस्तो टिम हो क्यानडा ? टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा क्यानडा २२ औं स्थानमा छ। क्यानडालाई एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको भने मान्यता छैन। जारि विश्वकप छनोटमा क्यानडाले फिलिपिन्सलाई ११८ रनले पराजित गर्दा ओमानसंग भने ९ विकेटले पराजित भएको थियो। भारत र पाकिस्तान मूलका खेलाडीहरुको बाहुल्यता रहेको क्यानडाले आफ्नो राम्रो दिनमा उत्कृस्ट टिमलाई पनि पराजित गर्ने क्षमता राख्ने गर्छ।
फिलिपिन्स बिरुद्ध क्यानडाका म्याथु स्पुर्सले शतक बनाएका थिए जसले अस्ट्रेलिया र क्यानडाको अन्डर-१९ टिमको लागि खेलीसकेका छन्। ओमान बिरुद्ध खेलमा क्यानडाले ४१/३ को अवस्थाबाट पुनरागमन गर्दै १५५ रन बनाउनुले पनि टिम कमजोर नरहेको स्पस्ट हुन्छ। ओमान बिरुद्ध रभिन्दरपाल सिंहले ४६ रन बनाएका थिए जोसंग नेपाली टिम साबधान हुनु पर्नेछ। यस्तै नेपालको एभरेस्ट प्रिमियर लिग खेलीसकेका रायन पठानसंग पनि अनुभव रहेको छ जो बलिंग पनि गर्न सक्छन्। देब्रे हाते स्पिनर साद जाफर, विकेटकिपर ब्याट्सम्यान हम्जा तारिक, ब्याट्सम्यान नभनित ढालीवाल, पाकिस्तान यु-१९ टिमको लागि खेलीसकेका देब्रे हाते पेसर कलिम साना तथा लेग स्पिनर जुनैद सिद्दिकी नेपाल बिरुद्ध खतरनाक सावित हुन सक्छन्।
अंकतालिका र सेमीफाइनल समीकरण
The ICC Men’s #T20WorldCup Qualifier A standings after today’s matches 👇
Catch all the action: https://t.co/6KZi7Z1MgZ pic.twitter.com/LNQxfL5V3U
— ICC (@ICC) February 19, 2022
दुई जितपछि नेपालको नेट रन रेट ( +४.३७५ ) राम्रो छ। यदी नेपालले अन्तिम खेलमा क्यानडालाई पराजित गरे समुह ‘बि’ विजेताको रुपमा सेमीफाइनल पुग्नेछ। नेपाल पराजित भएको खण्डमा तथा ओमानले फिलिपिन्सलाई पराजित गरेको खण्डमा भने नेपाल, ओमान र क्यानडाको समान ४ अंक हुने हुँदा नेट रन रेटमा अघि हुने दुई टिम सेमीफाइनल पुग्नेछ। यदी त्यसो भए नेट रन रेटमा नेपाललाई पछि पार्नको लागि ओमानले फिलिपिन्सलाई विशाल अन्तरले ( जुन सम्भव छ ) तथा क्यानडाले नेपाललाई नेट रन रेटमा पछि पार्न राम्रो अन्तरले पराजित गर्नुपर्नेछ। नेपालले थोरै अन्तरको हार बेहोरेको खण्डमा पनि नेट रन रेटमा क्यानडा भन्दा अघिनै हुनसक्छ। हाल क्यानडाको नेट रन रेट ( २.५१२ ) , ओमानको -०.५६३ र नेपालको ४.३७५ छ।
नेपालले पहिले ब्याटिंग गर्दै १५० रन बनायो र क्यानडाले लक्ष्य १६ ओभरमा पुरा गर्यो भने क्यानडाले नेट रन रेटमा नेपाललाई जित्नेछ। क्यानडाले पहिले ब्याटिंग गर्दै १५० रन बनायो र नेपालले लक्ष्य पछ्याउने क्रममा ११० रन मात्र बनाउन सक्यो भने क्यानडाले नेपाललाई नेट रन रेटमा जित्नेछ। क्यानडासंग नेपाल पराजित भएको खण्डमा पनि नेट रन रेटमा क्यानडा भन्दा अघि हुन सक्छ र यदी नेट रन रेटमा क्यानडा अघि भएको खण्डमा पनि ओमानले विशाल जित दर्ता नगरे ओमान भन्दा नेट रन रेटमा अघि रहेता पनि नेपाल सेमीफाइनल पुग्नेछ। यदी नेपालले क्यानडालाई पराजित गरेको खण्डमा ओमान सेमीफाइनल पुग्न फिलिपिन्स बिरुद्धको जित पर्याप्त छ।
सोमबार नेपाल र क्यानडा तथा ओमान र फिलिपिन्स बीचको खेल एकै समय ( ३ :४५ बजे दिउँसो ) सुरु हुनेछ।
सेमीफाइनलमा समुह ‘ए’ को विजेताले समुह ‘बि’ को विजेतासंग तथा समुह ‘बि’ को विजेताले समुह ‘ए’ को उपविजेताको सामना गर्नेछ। सोमबारनै समुह ‘ए’ अन्तर्गत युएई र बहराईन तथा जर्मनी र आयरल्याण्ड बीच खेल हुँदैछ।