वेस्टइन्डिज बिरुद्ध टि-२० सिरिज भारतद्वारा क्लिन स्विप

तेश्रो खेलमा भ्रमण टोलि वेस्टइन्डिजलाई १७ रनले पराजित गर्दै भारतले टि-२० अन्तर्राष्ट्रिय सिरिज ३-० ले क्लिन स्विप गरेको छ।

सिरिज अन्तर्गत पहिलो र दोश्रो खेलमा क्रमशः भारत ६ विकेट र ८ रनले विजयी भएको थियो। यस अघि एकदिवसीय सिरिज पनि भारतले ३-० ले जितेको थियो।

ईडन गार्डेन्स कोलकातामा भारतले दिएको १८५ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले पुरै २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा १६७ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिज ओपनर कायल मेयर्स र शाई होपलाई दिपक चाहरले पहिलो स्पेलमै पेभेलियन फर्काए। तेश्रो विकेटको लागि निकोलस पुरनले रोभम्यान पावेलसंग ४७ रन जोडे। सातौं ओभरमा पावेल २५ रन बनाएर हर्षल पटेलबाट क्याच आउट भए। भेंकटेस ऐयरले ५ रन बनाएका पोलार्ड र २ रन बनाएका जेसन होल्डरलाई पेभेलियन फर्काए। १२ रन बनाएर रोस्टन चेज पनि आउट हुँदा वेस्टइन्डिज १००/६ को अवस्थामा पुग्यो।

सातौं विकेटको लागि पुरनले रोमारियो शेफर्डसंग ४८ रन जोडे। अठारौं ओभरमा पुरनलाई शार्दुल ठाकुरले क्याच आउट पार्दै भारतलाई हावी परे। पुरनले ४७ बलमा ८ चौका र छक्का मद्दतले ६१ रन बनाए। उक्त ओभरमा ठाकुरले मात्र ६ रन खर्चिए। २ ओभरमा जित्न ३१ रन आवस्यक हुँदा २९ रन बनाएका शेफर्डलाई हर्षल पटेलले क्याच आउट पारे भने ओभरमा मात्र ८ रन खर्चिए। अन्तिम ओभरमा जित्न २३ रन आवस्यक हुँदा ठाकुरले मात्र ५ रन खर्चिए र भारतलाई जितसम्म पुर्याए।

भारतको बलिंगमा हर्षल पटेलले सर्वाधिक ३ विकेट ( ४-०-२२-३ ) लिए भने शार्दुल ठाकुर ( ४-०-३३-२ ) , भेंकटेस ऐयर ( २.१-०-२३-२ ) र दिपक चाहरले ( १.५-०-१५-२ ) समान दुई विकेट लिए।

टस हारेर ब्याटिंग गरेको भारतले २० ओभरमा ५ विकेट क्षेतीमा १८४ रन बनाएको थियो।

भारतको लागि सूर्यकुमार यादवले सर्वाधिक ६५ रन बनाए जुन क्रममा ३१ बलमा १ चौका र ७ छक्का प्रहार गरे। भेंकटेस ऐयरले १९ बलमा ४ चौका र २ छक्का मद्दतले अविजित ३५ रन बनाए। इशान किशनले ३४, श्रेयस ऐयरले २५ रन बनाए।

९३ रनमा ४ विकेट गुमाएको अवस्थामा सूर्यकुमार र भेंकटेसले पाँचौ विकेटको लागि ३७ बलमा ९१ रनको साझेदारी गरेका थिए। वेस्टइन्डिजको बलिंगमा जेसन होल्डर, रोमारियो शेफर्ड, रोस्टन चेज, हेडन वाल्श, डोमिनिक ड्रेक्सले समान एक विकेट लिए।

२०७८ फाल्गुन ८, आईतवार मा प्रकाशित