जर्मनीलाई सहजै पराजित गर्दै आयरल्याण्डले ओमानमा जारी टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिताको समुह ‘ए’ बाट सेमीफाइनलमा स्थान पक्का गरेको छ। तर समुह विजेता या उपविजेताको रुपमा सेमीफाइनलमा पुग्ने हो भने युएई र बहराईनको खेलपछि थाहा हुनेछ।
यदी बहराईनले युएईलाई १२५ रन भित्र रोके बहराईन समुह विजेताको रुपमा तथा आयरल्याण्ड उपविजेताको रुपमा सेमीफाइनल पुग्नेछ। यदी युएईले १२५ देखि १५७ रन बनाए आयरल्याण्ड समुह विजेता र बहराईन उपविजेताको रुपमा सेमीफाइनल पुग्नेछ। यु एईले जिते युएई समुह विजेताको रुपमा सेमीफाइनल पुग्नेछ।
अल अमिरात मैदानमा जर्मनीले दिएको १०८ रनको सामान्य लक्ष्य आयरल्याण्डले १३.१ ओभरमा मात्र ३ विकेट क्षेतीमा पुरा गर्यो।
आयरल्याण्ड ओपनर पल स्टरलिंग र एन्डी म्याकबर्नीले ६७ रनको ओपनिंग साझेदारी गर्दै टिमलाई सहज जिततर्फ डोर्याए। स्टरलिंग ३४ तथा बालबर्नी ३२ रन बनाएर आउट भए। त्यसपछि हेरी टेक्टरले अविजित २४ रन बनाए। जर्मन बलर मुस्लिम यारले २ तथा भेन्कटराम गनेशनले १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको जर्मनीले २० ओभरमा ७ विकेट क्षेतीमा १०७ रन बनाएको थियो। जर्मनीको लागि फैसल मुबाशिरले अविजित रहँदै सर्वाधिक ४५ रन तथा डाईलन बिगनटले २२ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। आयरल्याण्ड बलर जोश लिटल र एन्डी म्याकब्रायनले समान दुई विकेट तथा मार्क अडेर, क्रेग योंग र सिमि सिंहले समान एक विकेट लिए।
आयरल्याण्डको ३ खेलमा २ जित र १ हार पछि ४ अंक रहेको छ भने नेट रन रेट ०.९९१ छ । युएईको २ खेलमा ४ अंक छ भने नेट रन रेट १.०५० छ। बहराईनको २ खेलमा २ अंक छ भने ०.२४१ नेट रन रेट छ।
सेमीफाइनलमा समुह ‘ए’ को विजेताले समुह ‘बि’ को उपविजेता तथा समुह ‘ए’ को उपविजेताले समुह ‘बि’ को विजेतासंग खेल्नेछ।