विश्वकप छनोट : युएई र आयरल्याण्ड सेमीफाइनलमा

आयरल्याण्ड र युएई टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिताको समुह ‘ए’ बाट युएई र आयरल्याण्ड सेमीफाइनल पुगेका छन्।

समुह ‘ए’ को अन्तिम खेलमा बहराईनसंग युएई २ रनले पराजित भएता पनि नेट रन रेटमा अघि रहँदै युएई सेमीफाइनल पुगेको हो। आयरल्याण्ड समुह विजेता तथा युएई समुह उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो।

३ खेलमा समान २ जित र १ हार बेहोरेपछि आयरल्याण्ड, युएई र बहराईनको समान ४ अंक रह्यो। तर नेट रन रेटमा आयरल्याण्ड पहिलो ( ०.९९ ) , युएई दोश्रो ( ०.६७ ) र बहराईन तेश्रो ( ०.२४ ) स्थानमा रह्यो।

खेलमा बहराईनले दिएको १७३ रनको लक्ष्य पछ्याउने क्रममा युएईले २० ओभरमा ६ विकेट क्षेतीमा १७० रन मात्र बनायो।

लक्ष्य पछ्याउने क्रममा मुहम्मद वासिम २ तथा चिराग सुरी २६ रन बनाएर आउट भए। तेश्रो विकेटको लागि भृत्य आनन्दले ९१ रनको साझेदारी गरे। अठारौं ओभरमा ४१ रन बनाएका मुस्तफा रन आउट भए भने लगत्तै बलमा कासिफ दाउद खाता नखोली आउट भए। त्यसपछि भृत्य अरभिंदले ८४ रन बनाएता पनि जित दिलाउन सकेनन्।

यस अघि टस जितेर ब्याटिंग गरेको बहराईनले २० ओभरमा ५ विकेट क्षेतीमा १७२ रन बनाएको थियो।

बहराईनको लागि डेभिड माथिएसले अविजित रहँदै सर्वाधिक ४६, उमर इम्तियाजले ४२, हैदर बटले ३५ तथा कप्तान सरफराज अलिले ३२ रन बनाए। इम्तियाजले दोश्रो विकेटको लागि अलिसंग ४९ रनको तथा माथिएससंग ४१ रनको साझेदारी गरे। पाँचौ विकेटको लागि माथिएसले बटसंग मात्र ३४ बलमा ७६ रनको साझेदारी गरे।

युएईका बलर बसिल हमिद, काशिफ दाउद, कार्तिक मैयप्पा र जवर फरिदले समान एक विकेट लिए।

२०७८ फाल्गुन ९, सोमबार मा प्रकाशित