विश्वकप छनोट : क्यानडाको लज्जास्पद ब्याटिंग, नेपाल सेमीफाइनल नजिक

ओमानमा जारी टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समुह चरणको तेश्रो खेलमा क्यानडा र नेपाल प्रतिस्पर्धा गरि रहेका छन्।

खेलमा टस जितेर पहिले ब्याटिंग रोजेको क्यानडाले १५ ओभरमा ८० रनमै सम्पूर्ण विकेट गुमाएको छ। टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडाको यो इतिहासकै दोश्रो कम योगफल हो।

ओपनर म्याथु स्पुर्सलाई पहिलो ओभरमा कमल सिंह ऐरीले खाता नखोली क्याच आउट पारे। दोश्रो विकेटको लागि रायन पठनले नभनित ढालीवालसंग ३३ रन जोडे। पाँचौ ओभरमा १८ रन बनाएका ढालीवाललाई कमलले क्याच आउट परे। त्यसपछि लगत्तै ओभरमा १४ रन बनाएका रायन पठान रन आउट भए। त्यसपछि क्यानडाले लगातार विकेट गुमायो।

३५/१ को अवस्थाबाट उसले ४८ रन बनाउदा ९ विकेट गुमाउन पुग्यो। दशौँ विकेटको लागि डिल्लोन हेलिगरले सलमान नजरसंग ३२ रनको साझेदारी गर्दै क्यानडालाई सम्मानजनक अवस्थासम्म पुर्याए। नजर १० रन बनाएर आउट भए भने हेलिगरले अविजित २४ रन बनाए।

नेपालको बलिंगमा सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १२ रन मात्र खर्चिए। यस्तै कमल सिंह ऐरी ( ३-०-१६-२ ) र अविनाश बोहराले ( ३-०-७-२ ) समान दुई विकेट तथा कुशल मल्लले १ विकेट लिए।

खेलमा नेपाल विजयी भएको खण्डमा सेमीफाइनलमा समुह ‘ए’ को उपविजेता युएईसंग प्रतिस्पर्धा गर्नेछ। भोलिको दोश्रो सेमीफाइनल खेल ३:४५ बजे सुरु हुनेछ। नेपाल पराजित भएको खण्डमा पनि नेट रन रेटमा सेमीफाइनल पुग्ने सम्भावना प्रवल छ।

२०७८ फाल्गुन ९, सोमबार मा प्रकाशित