जितेको पाँच मिनेट पनि नबित्दै पुबुदुले सुरु गरे अभ्यास

यो वर्ष अस्ट्रेलियामा अक्टोबरमा आयोजना हुने टि-२० विश्वकप २०२२ मा छनोट हुन नेपाल एक कदम मात्र टाढा छ। युएईसंग टि-२० विश्वकप छनोट अन्तर्गत मंगलबार ३:४५ बजे दिउँसो हुने सेमीफाइनलमा जित दर्ता गरे नेपाल २०१४ पछि दोश्रो पटक टि-२० विश्वकप खेल्न छनोट हुनेछ। नेपाललाई विश्वकप पुर्याउने लक्ष्यका साथ मेहनत गरिरहेका नेपालका प्रशिक्षक दासानायेके त्यसको लागि कुनै पनि कसर बाँकि छोड्न चाहँदैनन्।

नेपालले क्यानडालाई समुह चरणको अन्तिम खेलमा ८ विकेटले पराजित गरेपछि प्रशिक्षक पुबुदु दासानायेके खुसि मनाउने मुडमा थिएनन्। बरु खेल सकिएको पाँच मिनेट पनि नबित्दै पुबुदुले बाँकी समयको सक्दो सदुपयोग गर्ने बारे सोचे।

खेल सकिएपछि पुबुदु अल अमिरात मैदानमा अभ्यास गर्न पुगे। टिमका युवा ब्याट्सम्यान लोकेश बमलाई उनले लामो प्रहार गर्ने अभ्यास गराउन जुटीहाले।

खेलमा कमेन्ट्रि गरिरहेका कमेन्टेटर तथा ईएसपीएन क्रिक्इन्फोका पत्रकार पिटर डेला पेनाले पुबुदु र नेपाली खेलाडीको मेहनतलाई बेवास्ता गर्न सकेनन्। ट्वीटरमा उक्त अभ्यासको भिडियो राख्दै पिटरले लेखेका छन् –

“नेपालले क्यानडालाई पराजित गर्दै विश्वकप छनोटको सेमीफाइनल पुगेको ५ मिनेट पनि नबित्दै कुनै पनि समय खेर नफाली प्रशिक्षकले लोकेश बमलाई रेन्ज हिटिंग अभ्यास गराएका छन्।” उनले लेखेका छन्।

भिडियो हेर्नुस

२०१४ मा पनि नेपाललाई प्रशिक्षक पुबुदुलेनै विश्वकप छनोट गराएका थिए भने ८ वर्ष पनि पनि सोहि सफलता दोहोर्याउने मौका उनि र नेपाली टिम गुमाउन चाहँदैन।

यस अघि फिलिपिन्ससंग जितपछि फिलिपिन्स टिमलाई १५ मिनेट सुझाव र हौसला प्रदान गर्न पुग्दा पनि पुबुदुले तारिफ बटुलेका थिए। पुनः पुबुदुले मन जित्ने काम गरेका छन् र नेपाली समर्थकहरुलाई विश्वास दिलाएका छन्।

नेपालले प्रतियोगितामा अपराजित रहने क्रममा ओमान, फिलिपिन्स र क्यानडालाई पराजित गरेको हो। नेपालको प्रतिद्वन्द्वी युएईले अन्तिम खेलमा बहराईनसंग २ रनको हार बेहोरेपछि समुह ‘ए’ को उपविजेताको रुपमा सेमीफाइनल पुगेको हो।

२०७८ फाल्गुन ९, सोमबार मा प्रकाशित