नेपालसंग सहज पराजय पछि क्यानडा कप्तानले बताए हारको प्रमुख कारण

जित्ने पर्ने खेलमा नेपालसंग पराजित हुँदै टि-२० विश्वकप छनोट प्रतियोगिताको सेमीफाइनल पुग्न असफल भएपछि क्यानडा कप्तान नभनित ढालीवालले आफ्नो टिमको लागि आज खराब दिन भएको प्रतिक्रिया दिएका छन्। खेलमा टस जितेर ब्याटिंग गरेको क्यानडा ८० रनमै समेटीएपछि नेपालले २ विकेट मात्र गुमाएर लक्ष्य भेटायो।

“यो त्यस्तो दिन मध्येको एक थियो जहाँ कुनै पनि कुराले काम गरेन। विशेष गरि रन आउट…. हो त्यस्तो दिन मध्येको एक।” खेलपछि प्रतिक्रिया दिने क्रममा निराश ढालीवालले धेरै शब्द राख्न सकेनन्।

नेपाल बिरुद्ध आक्रामक खेल्न खोज्दा विकेट छिटो गुमेको भन्ने कुरा उनले स्वीकार गरेनन्- “त्यस्तो हैन, रियान पठानको आक्रामक खेल त्यस्तै हो। त्यस बाहेक यो ब्याटिंग गर्न राम्रो विकेट थियो। मोमेन्टेम हो या दबाबमा म भन्न सक्दिन तर यो त्यस्तो दिन थियो, सबै कुरा गलत भयो हाम्रो।”

क्यानडाले ३५ रन बनाउदा मात्र १ विकेट गुमाएको थियो। तर पाँचौ ओभरमा ढालीवाललाई कमल सिंह ऐरी र अविनाश बोहराको संयुक्त प्रयासमा नेपालले रन आउट गर्यो। त्यसपछि लगातार विकेट गुमाएको क्यानडा ४८/९ को अवस्थामा पुग्यो। दशौँ नम्बरमा ब्याटिंग गरेका डिल्लोन हेलिंगरले अविजित २४ रन बनाउदै क्यानडाको लाज ढाके।

उनले आफु सहित माथिल्लो क्रमका दुई जना रन आउट हुँदा खेलमा आफ्नो टिमको लय गुमेको बताए – “रन आउट भए पछि पुर्णरुपमा लय परिवर्तन भयो। म आउट भए त्यसपछि रियान पठान, अनि खेल पुरै परिवर्तन भयो।” ढालीवालले रन आउट हुनु अघि १४ बलमा २ चौका र १ छक्का मद्दतले १८ रन बनाएका थिए।

प्रतियोगिता अन्तर्गत क्यानडाले मंगलबार प्लेअफ खेलमा जर्मनीसंग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा युवा खेलाडीलाई मौका दिईने उनले बताए- “अन्तिम खेलमा युवा खेलाडीहरुलाई मौका दिने छौँ जसले भविष्यमा क्यानडाको लागि राम्रो गर्न सक्छन्।”

२०७८ फाल्गुन ९, सोमबार मा प्रकाशित