ओमानमा जारी टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सेमीफाइनलमा आज युएईसंग प्रतिस्पर्धा गदैछ। खेलमा नेपाल विजयी भएको खण्डमा यो वर्ष अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकप २०२२ मा नेपाल छनोट हुनेछ। महत्वपूर्ण खेल अघि नेपालको लागि खतरनाक सावित हुन सक्ने युएईका चार खेलाडीहरुको चर्चा गरेका छौँ।
रोहन मुस्तफा : नेपालको सबै घरेलु फ़्रेन्चाइज् लिग खेलेको अनुभव बोकेका रोहन मुस्तफा युएई टिमका चतुर अलराउण्डर हुन्। अफ स्पिन बलिंग र मध्यक्रममा ब्याटिंग गर्ने रोहन टि-२० अन्तर्राष्ट्रियमा युएईको सर्वाधिक विकेटकर्ता हुन् भने दोश्रो उच्च रनकर्ता समेत हुन्। उच्च लयमा रहेका मुस्तफाले भर्खरै सम्पन्न चार देशीय सिरिजमा नेपाल बिरुद्ध ४९ रन बनाउनुको साथै २ विकेट लिएका थिए। यस्तै सोहि सिरिजमा आयरल्याण्ड बिरुद्ध उनले ५४ रन बनाएका थिए। यस्तै विश्वकप छनोटमा बहराईन बिरुद्ध ४१ रन बनाएका उनले तिन खेलमा ६९ रन बनाउनुको साथै ४ विकेट पनि लिएका छन्। उनको अर्को बलियो पक्ष उनि नेपाली क्रिकेट र नेपालका खेलाडीहरु बारे जानकार छन्। उनिसंग नेपाली टिम साबधान हुनुपर्नेछ।
चिराग सुरी : आईपीएलमा छनोट हुने पहिलो युएई क्रिकेटर चिराग सुरी उच्च लयमा छन्। २०१७ मा उनलाई गुजरात लायन्सले टिममा लिएता पनि खेल्न भने पाएका थिएनन्। नेपालको घरेलु लिग खेलेको अनुभव पनि भएका दायाँ हाते ब्याट्सम्यानले नेपाल बिरुद्ध भर्खरै सपन्न चार देशीय सिरिजमा ८४ रन बनाएका थिए। त्यस अघि ओमानसंग एकदिवसीय सिरिजमा उनले शतक बनाएका थिए। यस्तै जर्मनी बिरुद्ध जारि प्रतियोगितामा उनले ८१ रन बनाएका थिए। ओपनिंग ब्याटिंग गरे सुरी क्रिजमा लामो समय बिताउनमा विश्वास गर्छन् भने आक्रामक सट प्रहार गर्न पनि उत्तिकै सक्षम छन्।
भृत्य अरविन्द : उमेरले बीसौं बर्ष मात्र रहेता पनि युएईका विकेट किपर ब्याट्सम्यान अरविन्दको खेल कौशल परिपक्व खेलाडीको जस्तो छ। शानदार लयमा रहेका अरविन्दले जारि प्रतियोगितामा आयरल्याण्डसंग अविजित ९७, जर्मनीसंग ४० तथा बहराईनसंग अविजित ८४ रन बनाएका थिए। बहराईनसंग उनले तेश्रो नम्बरमा ब्याटिंग गर्दै खेलेको शानदार इनिंग्सलेनै युएईले सेमीफाइनलमा स्थान बनाउन सकेको हो। कलात्मक र आक्रामक ब्याटिंग परिस्थिति अनुसार गर्न सक्ने अरविन्दको विकेट नेपालको खेलमा महत्वपूर्ण हुनेछ। पछिल्लो ५ खेलमा तिनवटा अर्धशतक बनाएका युवा ब्याट्सम्यान नत्र नेपालको लागि ठूलो वाधा बन्न सक्छन्।
मुहम्मद वासिम : युएई ओपनर मोहम्मद वासिम आक्रामक ब्याटिंग गर्ने गर्छन्। प्रतियोगिता अघि चार देशीय सिरिजमा उनले ओमान बिरुद्ध मात्र ४४ बलमा ८ छक्का र ३ चौका मद्दतले ८४ रन बनाएका थिए। टि-२० अन्तर्राष्ट्रिय करियरमा उनको स्ट्राईक रेट १५० छ। पावरप्लेमा उनको विकेट नेपाली बलरले लिन नसके उनि घातक सावित हुन सक्नेछन्। उनले जर्मनी बिरुद्ध खेलमा ५० रन बनाएका थिए। गत वर्ष आयरल्याण्डसंग उनले टि-२० अन्तर्राष्ट्रिय शतक समेत बनाईसकेका छन्।