युएईसंग खेल अघि सन्दिप भन्छन् – “जिउ ज्यान लगाएर नेपाललाई विश्वकप छनोट गराउने आशा छ”

अस्ट्रेलियामा यो वर्ष अक्टोबरमा आयोजना हुने टि-ट्वान्टी विश्वकप २०२२ मा छनोट हुन नेपाल मात्र एक कदम टाढा छ। युएईसंग आज ३:४५ बजे नेपालले टि-२० विश्वकप ग्लोबल छनोट ( ए ) प्रतियोगिताको सेमीफाइनल खेल्दै छ जुन खेल जितेमा नेपाल २०१४ पछि दोश्रो पटक विश्वकप खेल्न छनोट हुनेछ। आफ्नो करियरकै सबै भन्दा महत्वपूर्ण मध्येको खेल खेल्नु अघि कप्तान सन्दिप लामिछानेले टिमले शत प्रतिशत दिएर खेल्ने बताएका छन् –

“हामीले युएईसंगको खेल ( बहराईनसंग ) हेर्यौं। हामीलाई पक्कै सहज हुने छैन, दुवै टिम एकअर्कासंग पहिलो देखिनै खेलीरहेका छौँ। हामीलाई पनि युएई बारे धेरै कुरा थाहा हुनाले सजिलो हुनेछ र युएईलाई पनि हाम्रो बारेमा थाहा हुनाले उस्तै हुनेछ। दुवै टिमको लागि विन-विन सिचुएसन छ। भोलि एउटा ठूलो दिन हो जुन टिमले राम्रो खेल्छ त्यही टिम अघि जान्छ।” खेल पछि ग्यालेक्सी टिभीसंग कुराकानीमा सन्दिपले बताए।

उनले चार देशीय सिरिजमा युएईसंग पराजित हुँदा नेपालले पहिलो रोजाईको टिम नखेलाएको बताए – “अन्तिम पटक खेल्दा हाम्रो पहिलो रोजाईको टिम खेलेको थिएन जसले फरक पार्छ। त्यसमा हामीले केहि बलिंग परिवर्तन गरेका थियौं।”

उनले नेपाली टिम सन्तुलित रहेको जसमा बलरहरुको योगदान महत्वपूर्ण रहेको बताए – “अहिले धेरै सोच्नु पर्ने अवस्था छैन। बलरहरुले सजिलो बनाईदिएका छन्। ब्याटरहरुले पनि उत्तिकै राम्रो प्रदर्शन गर्दै हुनुहुन्छ। क्यानडा बिरुद्ध जुन तरिकाले दिपेन्द्र र कुशलको साझेदारी भयो, वहाँहरुले खेल फिनिश गरेरनै आउनु भयो। यो टिमको प्रयास हो, सबैको प्रयासलेनै हामि यहाँ सम्म पुगेका हौँ।”

उनले युएई बिरुद्ध खेल बारे टिमले योजना बनाउने बताए – “हामि होटल पुगेर योजना बनाउने छौँ , एक पटकमा एउटा खेलको लागि मात्र सोच्छौ। हामि सबै बसेर कसरि अगाडी बढ्ने योजना बनाउने छौँ।”

नेपालको लागि ठूलो खेल रहेको जसको लागि सबैले शत प्रतिशत दिने उनले बताए – “यो हाम्रो लागि निकै ठूलो खेल हो र हामि पक्कै पनि शत प्रतिशत दिने छौँ।”

“हामि सबै मानसिक रुपमा तयार छौँ र उत्तिकै भोक छ हामिसंग। चाहे अभ्यास होस् या फिल्डिंगमा होस् , चाहे बलिंग या ब्याटिंग सबैले शत प्रतिशत दिनु भएको छ। अब एउटा अर्को प्रयास बाँकी छ जसको प्रतीक्षा छ।”

उनले टिमको अहिलेसम्मको सफलतामा फास्ट बलरहरुलाई श्रेय दिए – “टि-२० खेल त्यो दिनमा निर्भर गर्छ कि के हुन्छ। कमलले यो सिरिज र चार देशीय सिरिजमा सुरुवाती विकेटहरु दिलाएका छन्। त्यसले गर्दा बिपक्षीलाई धकेल्न सजिलो भएको छ। त्यसले गर्दा अरु बलरलाई पनि सहज भएको छ जसले गर्दा अविनाशलाई पनि अघि ल्याउन सहज भएको छ। यो सबै कमल र जितेन्द्रले गर्दा हो।”

उनले नेपालको बलिंग राम्रो भैरहेको बताउदै आफुलाई कप्तानी गर्न सहज भएको बताए – “मलाई प्रतियोगितामा निकै सहज भइरहेको छ। उनीहरु नियमित विकेट लिईरहेका छन् र सहि ठाउँमा बल फालीरहेका छन् र सुरुवाती विकेट लिईरहेका छन्। त्यसैले श्रेय यो पटक फास्ट बलरहरुलाई जान्छ।”

उनले बलरहरुको लय सेमीफाइनलमा पनि दोहोरिने विश्वास व्यक्त गरे “मलाई लाग्छ उत्कृस्ट क्रिकेट अझै आउन बाँकी छ। तर जसरि उनीहरुले भूमिका निभाएका छन् त्यसले निकै उत्साहित बनाएको छ। जसरि हाम्रा बलरहरुले बलिंग गरिरहेका छन् त्यो हेर्नु सुखदायी छ। सबै जना राम्रो आकारमा छन्। आशा छ त्यो फेरी दोहोरिनेछ। अब अर्को एक दिन यही लय कायम राख्न चाहन्छौ। र जसरि उनीहरु बलिंग गरिरहेका छन् ममा आत्मविश्वास छ।”

“ओमानको परिस्थिति हाम्रो लागि अब नयाँ छैन, हामि यहाँ केहि समय देखि खेलीरहेका छौँ। हामि एकै विकेटमा दुई साता देखि खेलीरहेका छौँ। अब मलाई लाग्छ कुशल र दिपेन्द्र मात्र हैन सबैले बराबर मेहनत गरिरहेका छन्। हामि ठूलो खेलको लागि तयार छौँ।”

उनले नेपाललाई विश्वकप पुर्याउन अन्तिम प्रयास गर्ने बताए- “हामि सबै त्यो पलको लागि मेहनत गरिरहेका छौँ। अब हामी सबैले अन्तिम प्रयास गर्न बाँकि छ। हामि उत्साहित छौँ र अहिलेसम्म राउण्ड रोबिनको यात्रा निकै राम्रो रहेको छ। जसले पनि भोलि दबाब झेल्न सक्छ त्यही टिम विजेता बन्नेछ।”

उनले नेपाली समर्थकहरुलाई धन्यवाद दिए – “सबैलाई धन्यवाद अहिलेसम्म सबैले हामीलाई विश्वास गर्नु भएकोमा। भोलि एउटा महत्वपूर्ण खेल छ र सबैजनाको त्यतिकै आशा , माया प्रेमको आशा छ। अहिलेसम्म हामीलाई माया गर्नु भएकोमा धन्यवाद। हाम्रो तर्फ बाट १०० प्रतिशत दिईरहेका छौँ र त्यसरी पनि भोलि पनि जिउ ज्यान लगाएर नेपाललाई विश्वकप छनोट गराउने आशा छ।”

२०७८ फाल्गुन १०, मंगलवार मा प्रकाशित