टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सेमीफाइनलमा आज नेपालले युएईसंग प्रतिस्पर्धा गर्दैछ। खेल जिते नेपाली टिम यो वर्ष अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकप खेल्न छनोट हुनेछ। नेपाल समुह ‘बि’ को विजेताको रुपमा सबै तिन खेल जित्दै तथा युएई समुह ‘ए’ को उपविजेताको रुपमा २ जित र १ हार बेहोर्दै सेमीफाइनल पुगेको हो। खेल बारे सम्पूर्ण जानकारी यहाँ प्रस्तुत गरेका छौं।
खेल – नेपाल – युएई , कहाँ – ओमानको अल अमिरात मैदान, समय : ३:४५ बजे दिउँसो ( नेपाल )
लाइभ कहाँ हेर्ने – नेपालमा हिमालय टिभी, युट्युबमा ओएसआर स्पोर्ट्स, नेपाल बाहिर – ICC.tv
हेड टु हेड : नेपाल २-२ युएई, दुई देश हालसम्म चार पटक टि-ट्वान्टी अन्तर्राष्ट्रियमा आमने सामने भएका छन्। त्यस मध्ये नेपाल र युएई समान दुई खेलमा विजयी भएका छन्।
वरियता : नेपाल – १३ , युएई – १२
पछिल्लो ५ खेलमा युएईको नतिजा : हार ( बहराईन ) , जित ( जर्मनी ) , जित ( आयरल्याण्ड ) , हार ( ओमान ) , जित ( आयरल्याण्ड )
पछिल्लो ५ खेलमा नेपालको नतिजा : जित ( क्यानडा ) , जित ( फिलिपिन्स ) , जित ( ओमान ) , हार ( आयरल्याण्ड ) , हार ( युएई )
अन्तिम भेट : अन्तिम पटक भर्खरै सम्पन्न चार देशीय टि-२० सिरिजमा भेट भएका थिए जुन खेल युएईले २५ रनले जितेको थियो। युएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर ब्याटिंग गर्दै ५ विकेट क्षेतीमा १६७ रन बनाएको थियो। युएईको लागि प्लेयर अफ द म्याच चुनिएका चिराग सुरीले ५३ बलमा अविजित ८४ रन तथा रोहन मुस्तफाले ४९ रन बनाएका थिए भने बलिंगमा रोहन मुस्तफा र काशिफ दाउदले समान दुई विकेट लिएका थिए। नेपालको लागि दिपेन्द्र ऐरीले सर्वाधिक ४१, आसिफ शेखले ३४, लोकेश बमले ३३ तथा ज्ञानेन्द्र मल्लले २२ रन योगदान दिएका थिए। यस्तै नेपालको बलिंगमा शाहब आलम, सन्दिप लामिछाने र आरिफ शेखले एक/एक विकेट लिएका थिए।
ओमानको बलियो र कमजोर पक्ष : युएईको बलियो पक्ष ब्याट्सम्यानहरुको लय हो। भृत्य अरविन्द, चिराग सुरी, रोहन मुस्तफा, मुहम्मद वासिम राम्रो लयमा छन्। त्यस मध्ये पनि तेश्रो नम्बरका ब्याट्सम्यान अरविन्द सबैभन्दा उच्च लयमा छन् जो बिपक्षीबाट खेल टाढा धकेल्न सक्छन्। रोहन मुस्तफाको अलराउण्ड क्षमताको साथै उनले नेपालको घरेलु लिगहरु खेलेको हुँदा नेपाली टिम राम्रो बुझेका छन्। युएईको कमजोर पक्ष बलरहरुको फर्म हो। उसका बलरहरु विकेट निकाल्न सक्षम भैरहेका छैनन्। बहराईनले युएई बिरुद्ध १७२ रन बनाएको थियो भने जर्मनीले समेत १६७ रन बनाएको थियो। त्यस्तै माथिल्लो क्रम नचलेको खण्डमा उसको तल्लो मध्यक्रम पनि बलियो देखिएको छैन।
नेपालको बलियो र कमजोर पक्ष : नेपालको बलियो पक्ष बलिंग हो। विश्वकप छनोटमा खेलेको तिन खेलमा नेपालले बिपक्षीलाई एक सय भन्दा कम रनमै रोक्न सफल भएको छ। नेपालले ओमानलाई ७८ रनमा, क्यानडालाई ८० रनमा तथा फिलिपिन्सलाई ८२ रनमै रोक्न सफल भएको छ। नेपालको बलिंगमा कमल सिंह ऐरी, अविनाश बोहरा, जितेन्द्र मुखिया, दिपेन्द्र ऐरी र कप्तान सन्दिप लामिछाने उच्च लयमा छन्। नेपाली फास्ट बलरहरुले बिपक्षी टिमको सुरुवाती ओभरमै विकेटहरु निकालीरहेका छन् भने मध्य ओभरमा सन्दिप र दिपेन्द्र तथा अविनाश बोहरा घातक सावित भएका छन्। नेपालको कमजोर पक्ष ब्याटिंग देखिएको छ। ओपनर आसिफ शेख लगायत कुशल मल्ल, ज्ञानेन्द्र मल्ल लयमा छैनन्। दिपेन्द्र ऐरी, कुशल भुर्तेल र आरिफ शेखले लय देखाएता पनि अन्य ब्याट्सम्यानको फर्म भने नेपालको चिन्ता बनेको छ।
नेपाल टिम : सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, आसिफ शेख ( विकेटकिपर ) , कमलसिंह ऐरी, अविनाश बोहरा, जितेन्द्र मुखिया, विवेक यादव, लोकेश बम, गुल्सन झा, सागर ढकाल
युएई टिम : काशिफ दाउद, एहमद राजा ( कप्तान ) , रोहन मुस्तफा, जहुर खान, चिराग सुरी, अकिफ राजा, मुहम्मद उस्मान, कार्तिक मैयप्पा, मोहम्मद बुता, राहुल भाटिया, आलिशान शरफु, भृत्य अरविन्द ( विकेटकिपर ) , जवर फरिद, जुनैद सिद्दिकी, बसिल हमिद, मुहम्मद वासिम