विश्वकप छनोट हुन युएईद्वारा नेपाललाई चुनौतिपूर्ण लक्ष्य

ओमानमा जारी टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट प्रतियोगिताको सेमीफाइनलमा नेपाल र युएई प्रतिस्पर्धा गरिरहेका छन्। खेल जिते नेपाल यो वर्ष अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकप २०२२ खेल्न छनोट हुनेछ।

अल अमिरात मैदानमा टस जितेर ब्याटिंग रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १७५ रन बनाउदै नेपाललाई १७६ रनको लक्ष्य दिएको छ।

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा लक्ष्य पछ्याउने क्रममा नेपालले बनाएको सर्वाधिक स्कोर १६७ रन हो जुन यसै महिना सम्पन्न चार देशीय सिरिजमा नेपालले युएईसंग १९३ रनको लक्ष्य पछ्याउने क्रममा बनाएको थियो।

४ रन बनाएका ओपनर चिराग सुरीलाई दोश्रो ओभरमा जितेन्द्र मुखियाले बोल्ड गरेपछि दोश्रो विकेटको लागि मुहम्मद वासिमले भृत्य अरविन्दले ६६ रनको साझेदारी गरे। मात्र २३ बलमा ५ चौका र ३ छक्का मद्दतले ४६ रन बनाएका अरविन्दलाई आठौँ ओभरमा सन्दिप लामिछानेले बोल्ड गरे। तेश्रो विकेटको लागि वासिमले मुहम्मद उस्मानसंग ६४ रन जोडे। त्यसपछि अन्तिमको ओभरहरुमा भने नेपाली बलरले पुनरागमन गरे र नियमित विकेट लिए।

सत्रौं ओभरमा अविनाश बोहराले उस्मानलाई क्याच आउट पारे। सोहि ओभरमा वासिम पनि क्याच आउट भए। वासिमले ४८ बलमा ४ चौका र ४ छक्का मद्दतले ७० रन बनाए। लगत्तै ओभरमा मुखियाले २ रन बनाएका बसिल हमिद र ११ रन बनाएका जवर फरिदलाई क्याच आउट पारे। उन्नाईसौं ओभरमा अविनाशले ४ रन बनाएका काशिफ दाउदलाई क्याच आउट पारे। अन्तिम ५ ओभरमा युएईले ५ विकेट गुमाएर ४४ रन बनायो। एहमद राजा ६ र रोहन मुस्तफा ९ रनमा अविजित रहे।

नेपालको बलिंगमा अविनाश बोहरा र जितेन्द्र मुखियाले समान तिन विकेट लिए। अविनाशले ४ ओभरमा ४६ रन तथा जितेन्द्रले ३ ओभरमा ३५ रन खर्चिए। सन्दिप लामिछानेले एक विकेट ( ४-०-२४-१ ) लिए। कमल सिंह ऐरी विकेटविहिन ( ४-०-३०-० ) रहे।

खेलमा नेपालले अन्तिम एघारमा कुशल मल्ललाई बाहिर राख्दै बिबेक यादवलाई अन्तिम एघारमा मौका दिएको छ।

२०७८ फाल्गुन १०, मंगलवार मा प्रकाशित