“हाम्रो खराब र युएईको उत्कृस्ट दिन एकै पटक आयो” पूर्व कप्तान बिनोद दास

टि-२० विश्वकप छनोट प्रतियोगिताको सेमीफाइनलमा युएईसंग पराजित भएपछि नेपालको दोश्रो पटक टि-२० विश्वकप खेल्ने सपना चकनाचुर भएको छ। खेलमा टस जितेर ब्याटिंग गर्दै युएईले १७५ रन बनाएपछि जवाफमा नेपालले १०७ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। नेपालको असफलता पछि समर्थकहरु निराश बनेका छन्। यसै बीच नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघका क्रिकेट म्यानेजर बिनोद दासले टिमको असफलता पछि निराश समर्थकहरुलाई सम्बोधन गरेका छन् –

आफ्नो फेसबुक पेजमा दासले लेखेका छन् – “हामी आज उत्कृस्ट टिमसंग पराजित भयौं। हाम्रो सबैभन्दा खराब र युएईको उत्कृस्ट दिन आज एकै पटक आयो।”

उनले थपे लेखेका छन् – “तर आफ्नो उत्कृस्ट दिएका खेलाडीहरुलाई पुरा श्रेय जान्छ। हामि गन्तव्यबाट टाढा छौँ तर हामि एकजुट भएर पुनः त्यहाँ पुग्न प्रयास गर्न सक्छौं। नेपाल, शिर ठाडो राख।”

उनले समर्थकहरुलाई आफूलाई गाली गर्नुस् तर टिमलाई साथ दिन अनुरोध गरेका छन् – “प्रिय क्रिकेट समर्थकहरु मलाई जारीसक्दो गालि गर्नुस् किनकि म आफ्नो काममा शत प्रतिशत दिन असफल भएको हुन सक्छु तर कृपया यो सुन्दर खेललाई माया निरन्तर गर्नुस् र खेलाडीहरुलाई साथ दिनुस्।”

विश्वकप छनोटमा नेपाल समुह चरणमा तिन खेलमा अपराजित हुँदै समुह विजेताको रुपमा सेमीफाइनल पुगेको थियो। सेमीफाइनलमा नेपाललाई पराजित गर्दै युएई तथा दोश्रो सेमीफाइनलमा ओमानलाई पराजित गर्दै आयरल्याण्ड टि-२० विश्वकप २०२२ खेल्न छनोट भएको छ।

प्रतियोगितामा नेपालले ओमान, क्यानडा र फिलिपिन्सलाई पराजित गरेको थियो। अब नेपालले तेश्रो स्थानको लागि ओमानसंग बिहिबार खेल्ने तालिका छ।

२०७८ फाल्गुन १०, मंगलवार मा प्रकाशित