आयोजक ओमानलाई ९ विकेटको रेकर्ड अन्तरले पराजित गर्दै नेपालले टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता तेश्रो स्थानमा अत्न्य गरेको छ।
अल अमिरात मैदानमा सम्पन्न खेलमा ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले मात्र १ विकेट क्षतिमा १६.२ ओभरमा भेट्टायो। ९ विकेटको जित नेपालको ओमानविरुद्ध अहिलेसम्मकै ठूलो विकेट अन्तरको सफलता हो। यस्तै बल बाँकी रहेको आधारमा यो नेपालकै आठौँ ठूलो जित हो।
लक्ष्य पछ्याउने क्रममा नेपालको लागि ओपनर कुशल भुर्तेलले अविजित ५५ रन बनाए जुन क्रममा ५३ बलमा ३ चौका र २ छक्का प्रहार गरे। कुशलले करियरको पाँचौ अर्धशतक पुरा गर्दै टि-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक अर्धशतक बनाउने खेलाडी बनेका छन्। पारस खड्काको ४ अर्धशतकको रेकर्ड उनले पछि पारेका हुन्।
यस्तै आरिफ शेखले अविजित २१ रन तथा आसिफ शेखले १३ रन बनाए। कुशल र आसिफले ५० रनको ओपनिंग साझेदारी गरे। आसिफ आठौं ओभरमा आउट भएपछि कुशल र आरिफले अविजित ४० रनको साझेदारी गरे।
टस जितेर ब्याटिंग गरेको ओमानले २० ओभरमा ९ विकेट क्षतिमा ८७ रन मात्र बनएको थियो। यो योगफल ओमानको टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै दोश्रो कम योगफल हो। नेपाल बिरुद्धनै प्रतियोगिताको समुह चरणमा ओमान ७८ रनमै समेटीएको थियो।
ओमानको लागि कप्तान जिशान मक्सुदले सर्वाधिक २१, आयान खानले १६, नशिम खुसिले १५ तथा कलेमुल्लाहले अविजित १४ रन बनाए।
नेपालको बलिंगमा कप्तान सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र १३ रन खर्चिए। ओमान बिरुद्ध नेपाली बलरको यो उच्च बलिंग प्रदर्शन हो। यस्तै कमल सिंह ऐरी ( ३-०-१०-१ ) , आरिफ शेख ( ४-०-१८-१ ) , अविनाश बोहरा ( ३-०-१३-१ ) र सागर ढकाल ( ३-०-१९-१ ) ले समान एक विकेट लिए।
छनोट अन्तर्गत नेपाल सेमीफाइनलमा युएईसंग पराजित हुँदै टि-ट्वान्टी विश्वकपमा छनोट हुन भने असफल भएको थियो। छनोटको एकै समुहमा रहेका युएई र आयरल्याण्ड टि-ट्वान्टी विश्वकप २०२२ मा स्थान बनाउन सफल भए।
आजै सम्पन्न प्रतियोगिताको फाइनलमा युएईले आयरल्याण्डलाई ७ विकेटले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो।