एलपीएल : डिफेन्डिङ च्याम्पियन ह्वाइट हाउसलाई पराजित गर्दै विद्या भूषण फाइनलमा

कैलाली

डिफेन्डिङ च्याम्पियन हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौँलाई पराजित गर्दै विद्या भूषण पब्लिक स्कुल गेटा धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । धनगढी स्थित प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा विद्या भूषणले ह्वाइट हाउस माथि ६ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हिमालयन ह्वाइट हाउसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ रनको चुनौतीपूर्ण लक्ष प्रस्तुत गरेको थियो । १ सय ७५ रनको विजयी लक्ष पछ्याएको विद्या भूषणले १० बल बाकी छँदै ४ विकेट गुमाएर लक्ष भेट्टायो ।

विद्या भूषणलाई फाइनलमा पुर्याउन कप्तान शेर मल्ल र वीरेन्द्र नाथले ९६ रनको उत्कृष्ट अविजित साझेदारी गरे । नाथले ४१ बलमा ३ चौका र ७ छक्काको मद्दतले ७३ र मल्लले ३० बलमा ५ चौका र ४ छक्काको मद्दतले ५७ रनको विस्फोटक पारी खेले । ११.२ ओभरमा ७९ रन बनाएर ४ विकेट गुमाएको विद्या भूषणका कप्तान मल्लले १७ औँ ओभरमा २७ रन प्रहार गर्दै टिमलाई रोमाञ्चक जित दिएका हुन् । १८ औँ ओभरमा विद्या भूषणको पोल्टामा २९ रन आयो । टिमका लागि उसका प्रदीप चन्दे १७ रन बनाए ।

बलिङ तर्फ हिमालयनका दीपक बोहरा(जुनियर) ले २ र सन्दीप शाहीले १ विकेट लिए ।

यस अघि हिमालयनका लागि लक्की कडायतले ४१ बलमा ४ चौका र १ छक्काको मद्दतले सर्वाधिक ४७ रन बनाए । दीपक बोहरा (जुनियर) र राहुल भण्डारीले टिमलाई समान २५/२५ रनको योगदान दिए । उसका दीपक बोहरा(सिनियर) ले २३ रन बनाउँदा नारायण जोशीले १७ र रजत तिमिल्सिनाले १५ रन बनाए ।

बलिङ तर्फ विद्या भूषणका कप्तान शेर मल्ल, वीरेन्द्र नाथ र प्रदीप चन्दे समान २/२ तथा अर्जुन साउद र नरेन साउदे १/१ विकेट लिए ।

खेलको प्लेयर अफ दी म्याच शेर मल्ल घोषित भए ।

प्रतियोगिताको दोश्रो सेमीफाइनलमा शारदा सरस्वति र सत्यवती एकेडेमी प्रतिस्पर्धा गर्नेछन्। दोश्रो सेमीफाइनल र फाइनल खेल शनिवारनै सम्पन्न हुनेछ।

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लगको विजेताले १ लाख ५० हजार र उप–विजेताले ७५ हजार पुरस्कार राशि पाउने छन् ।

२०७८ फाल्गुन १३, शुक्रबार मा प्रकाशित