धनगढी, फागुन १३– भारतीय कम्पनीले आयोजना पाएको नेपाल ट्वान्टी–२० लिग (एनपिएल) उसैलाई आयोजना गर्न दिने निर्णय नेपाल क्रिकेट संघ (क्यान)ले निर्णय गरेको छ ।
कैलालीमा सम्पन्न नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणले एनपिएलको आयोजनामा भारतीय कम्पनीलाई दिने कार्यसमितिको निर्णयलाई सर्वसम्मत पास गरेको हो । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले एनपिएल आयोजना गर्दै छ । क्यानले सो कम्पनीसँग १० वर्षका लागि नेपाल ट्वान्टी–२० लिग (एनपिएल) गर्न सन् २०२१ जनवरी २८ मा सम्झौता गरेको थियो । तर, नेपाल सरकारले भारतीय कम्पनीलाई आयोजना दिने क्यानको निर्णयलाई स्वीकृत नगरेपछि एनपिएलको आयोजना अन्योल पर्यो । जसको कारण क्यानको तीव्र आलोचना पनि भइरहेको थियो ।
तथापि, पछिल्लो समय सरकारले स्वीकृत दिएको हुँदा सो कम्पनीलाई लिग गर्न अनुमति दिने निर्णय साधारणसभाले पास गरेको छ । एनपिएलको आयोजना आगामी मे हुने सम्भावना छ । शुक्रबार सम्पन्न साधारणसभाले कार्यवहाक सचिव प्रशान्तविक्रम मल्लको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रोशन सिंहको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्यो । क्यानका कोषाध्यक्ष रोशन सिंहको अस्वस्थताका कारण आर्थिक प्रतिवेदन क्यानका केन्द्रिय सदस्य दुर्गाराज पाठकले पेश गरेका थिए । सो प्रतिवदेन पनि सर्वसम्मत पास भयो ।
कर्णाली प्रदेशको चार जिल्ला सल्यान, रुकुम पश्चिम, कालिकोट र दैलेखलाई क्यानको मान्यता दिने कार्यसमितिको प्रस्तावलाई साधारणसभाले अनुमोदन पनि गरेको छ । खेलकुद नियमावली बन्न नसकेका कारण संघको निर्वाचन हुन पाएको छैन । त्यसैले क्यानको पनि निर्वाचन हुन नसक्दा आगामी साधारण सभासम्मका लागि कार्यवाहक सचिवमा प्रशान्तविक्रम मल्ललाई निरन्तरता दिने उक्त साधारण सभाले निर्णय गरेको छ । सो साधारण सभाले वार्षिक लेखा परीक्षण पास गरेको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपालको क्रिकेटबाट आम नागरिकले धेरै अपेक्षा गरेको बताएका छन् । कैलालीमा सम्पन्न नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणको उद्घाटनका अवसरमा युवा तथा खेलकुद मन्त्री गहतराजले खेल क्षेत्रमा व्यापक राजनीतिकरण हुने प्रचलन विस्तारै कम हुँदै गएको प्रसंग कोट्याउँदै नेपाली क्रिकेट विकासको आशा आम नागरिक रहेको बताएका हुन् ।
‘खेल क्षेत्रमा विगतमा व्यापक राजनीतिकरण हुने प्रचलन विस्तारै कम हुँदै गएको छ । खेल क्षेत्रमा समर्पित व्यक्तिहरू जिम्मेवार हुँदै अघि बढ्नुपर्छ,’मन्त्री गहतराजले भने, ‘राज्यले खेलकुदमा अत्यन्त न्यून बजेट छुट्याउँदा पूर्वाधार र प्रतियोगितामा असर परेको छ । त्यसैले अब खेलकुदलाई उद्योगको रूपमा विकास गर्नुपर्छ ।’ नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटलाई स्थापित गर्न संघले निकै ठूलो संघर्ष गर्दै आइरहेको बताए ।
‘सरकारीस्तरमा नै क्रिकेटप्रति लगानी कम हुँदै गएको अनुभूति हामीले गरेका छांै । क्रिकेटमा अनुशासन कायम गर्न र पारदर्शी रूपमा काम अघि बढाउन वर्तमान कार्यसमिति कटिवद्ध छ,’क्यानका अध्यक्ष चन्दले भने,‘नेपाल ट्वान्टी–२० लिग (एनपिएल) सञ्चालन गर्दै क्रिकेटलाई व्यावसायिक बाटोमा अघि बढाउन हामी अघि बढ्दै छौं ।’ साधारण सभामा युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मी, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मी, पूर्वउपाध्यक्ष एवम् सल्लाहकार नरेश श्रेष्ठ र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपक बहादुर सिंहले शुभकामना मन्तव्य राखेका थिए ।
क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोटर््ससँग १० वर्षका लागि नेपाल ट्वान्टी–२० लिग (एनपिएल) गर्न सन् २०२१ जनवरी २८ मा भएको थियो । तर, नेपाल सरकारले स्विकृत नगरेपछि एनपिएलको आयोजना अन्योल भएको थियो । तथापि, पछिल्लो समय सरकारले स्विकृत दिएको हुँदा सो कम्पनीलाई लिग गर्न अनुमति दिने निर्णय साधारण सभाले पास गरेको छ ।