रुपन्देही सुपरलिगमा ज्ञानोदय ९ विकेटले विजयी

नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा ज्ञानोदय क्रिकेट क्लबले सैनामैना क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको छ ।

रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा बिहीबार भएको डिभिजन ‘बी’ अन्तर्गतको खेलमा ज्ञानोदयले सैनामैना क्रिकेट क्लबलाई ९ विकेटले हराएको हो ।

टस जितेर ब्याटिङ गरेको सैनामैनाले ३१ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । सैनामैनाका लागि सुनिल पौडेलले सर्वाधिक ३१, विशाल रानाले २७, अमृत परियारले १३ र विक्रम गौतमले १२ रनको योगदान गरे । बलिङतर्फ ज्ञानोदयका विशाल पौडेलले ६, करण विक र सुनिल धमलाले समान २/२ विकेट लिए ।

१ सय १५ रनको लक्ष्य पछ्याएको ज्ञानोदयले १८ दशमलव २ ओभरमा १ विकेटको क्षतिमा १ सय १६ रन बनायो । ज्ञानोदयका लागि सुनिल धमलाले ७९, महेश रानाले ३२ रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

सैनामैनाका सुनिल पौडेलले १ विकेट लिए । खेलमा ज्ञानोदय क्रिकेट क्लबका विशाल पौडेल म्यान अफ द म्याच घोषित भए । शुक्रबारको खेलमा तिलोत्तमा क्रिकेट क्लब र स्टार क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुने आयोजक रुपन्देही क्रिकेट संघका सचिव सञ्जय गुरुङले जानकारी दिनुभयो ।

२०७८ फाल्गुन १३, शुक्रबार मा प्रकाशित