आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत नेपालले मार्च १५ देखि २२ तारिखसम्म युएईमा आयोजक युएई र पपुवा न्यु गिनीसंग त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ। उक्त सिरिजको तयारीको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमलाई श्रीलंका लैजाने प्रयास नेपाल क्रिकेट संघ ( क्यान ) ले गरिरहेको छ।
युएई त्रिकोणात्मक सिरिजको लागि नेपाली टिमको बन्द प्रशिक्षण आइतबार देखि सुरु भैसकेको छ। ओमानमा टि-ट्वान्टी विश्वकप छनोट खेलेका तथा क्यानको केन्द्रिय अनुबन्धमा रहेका खेलाडीहरु अभ्यासमा जोडिएका छन्। टिम ओमान भ्रमणमा रहंदा जगत टमाटाको प्रशिक्षणमा बाँकी खेलाडीहरु टियु मैदान कीर्तिपुरमा नियमित अभ्यास भने गरिरहेका थिए।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी गराए अनुसार प्रशिक्षक पुबुदु दासानायेकेसंग छलफल पछि आइतबारनै नेपालले श्रीलंका भ्रमण गर्ने नगर्ने अन्तिम टुंगो लाग्नेछ।
भ्रमण योजना अनुसार नेपाली टिम त्रिकोणात्मक सिरिज खेल्न युएई प्रस्थान गर्नु अघि १० दिन श्रीलंकामा रहनेछ। त्यस क्रममा टिमले श्रीलंकाको प्रथम श्रेणी टिमहरुसंग अभ्यास खेलहरु खेल्नेछ। टिम ३ तारिखमा त्यसतर्फ प्रस्थान गर्ने सम्भावना छ। १० दिन श्रीलंका बसाइँ पछि श्रीलंकाबाटै टिम युएई प्रस्थान गर्नेछ।
प्रशिक्षक पुबुदु दासानायेके पहिलो कार्यकालमा नेपालको प्रशिक्षकको रुपमा आउँदा समेत नेपाली टिमले धेरैपटक श्रीलंकामा अभ्यास भ्रमण गरेको थियो भने खेलाडीहरुलाई व्यक्तिगत रुपमा पनि अभ्यास गर्न पठाएका थिए। पुबुदु प्रशिक्षकको रुपमा फर्किएपछि त्यसैलाई निरन्तरता दिन खोजिएको छ।
युएई त्रिकोणात्मक सिरिजमा नेपालले युएई र पपुवा न्यु गिनीसंग २/२ वटा खेल खेल्नेछ। नेपालले पहिलो खेल मार्च १६ तारिखमा पपुवा न्यु गिनीसंग, दोश्रो खेल मार्च १८ तारिखमा युएईसंग, तेश्रो खेल मार्च २१ तारिखमा युएईसंग तथा चौंथो खेल मार्च २२ तारिखमा पपुवा न्यु गिनीसंग खेल्ने तालिका छ।
प्रतियोगिता अन्तर्गत नेपालले पपुवा न्यु गिनीसंग पहिलो खेल शारजाह स्टेडियममा खेल्नेछ भने अन्य सबै खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा खेल्नेछ। सबै चारवटा खेल स्थानीय समय ९:३० बजे बिहान र नेपाली समय ११:१५ बजे बिहान सुरु हुनेछ।
प्रतियोगिता लगत्तै नेपाली क्रिकेट टिमले मार्च अन्तिम साता पपुवा न्यु गिनी र मलेसिया सम्मिलित त्रिकोणात्मक टि-ट्वान्टी सिरिज खेल्ने तालिका छ। त्यस अघि पपुवा न्यु गिनी र नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज पनि खेल्ने सम्भावना रहेको छ जुन विश्वकप लिग-२ अन्तर्गत भने रहने छैन।
विश्वकप लिग-२ अन्तर्गत नेपालले हालसम्म मात्र ८ वटा खेल खेलेको छ जसमा ४ जित र ४ हार बेहोर्दै ८ अंक सहित छैठौं स्थानमा छ। पपुवा न्यु गिनी र युएईसंग नेपालले पहिलो सिरिज खेल्न लागेको हो। लिग-२ अंकतालिकामा युएई १० खेलमा ५ जित र ३ हार पछि १२ अंक सहित चौंथो स्थानमा छ भने पपुवा न्यु गिनी सबै १२ खेल हार्दै पुछारमा सातौं स्थानमा छ। ओमान २३ खेलमा ३० अंक सहित पहिलो, स्कटल्याण्ड १२ खेलमा १६ अंक सहित दोश्रो, अमेरिका १६ खेलमा १४ अंक सहित तेश्रो, नामिबिया ९ खेलमा १० अंक सहित पाँचौ स्थानमा छ। लिग-२ अंक तालिकाको शिर्ष-३ स्थानमा रहने टिमले २०२३ को विश्वकप छनोट खेल्ने छ भने चौंथो देखि सातौँ स्थानको टिमले छनोट खेल्ने अर्को मौका स्वरूप विश्वकप छनोट प्लेअफ खेल्नेछ।