आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत नेपालले मार्च १५ देखि २२ तारिखसम्म युएईमा आयोजक युएई र पपुवा न्यु गिनीसंग त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको बन्द प्रशिक्षणको लागि २० सदस्यिय प्रारम्भिक टिमको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघद्वारा आईतवार घोषित टिममा विकेटकिपर ब्याट्सम्यानद्वय राजु रिजाल र अनिल शाहलाई मौका दिईएको छ । २०१६ पछि रिजालले तथा २०१८ पछि शाहले राष्ट्रिय टिमको लागि खेलेका छैनन्।
घोषित टिममा भर्खरै सम्पन्न ओमान भ्रमणमा टिममा रहेका अविनाश बोहरा, साहब आलम, लोकेश बम र जितेन्द्र मुखियाले स्थान पाएका छैनन्। उक्त भ्रमणमा घाइते भएका शरद भेसवाकर पनि टिममा छैनन्।
घाइते भएका कारण ओमान भ्रमणबाट बीचमै नेपाल फर्किएका करन केसी भने टिममा फर्किएका छन् । यस्तै युवा ब्याटर भीम सार्की पनि टिममा छन् जसले एभरेष्ट प्रीमियर लिगमा राम्रो प्रदर्शन गरेका थिए।
ओमान भ्रमणमा टिममा नरहेका सोमपाल कामी, विनोद भण्डरी, रोहित पौडेल, विक्रम सोब, पावन सर्राफ र सुशन भारी पनि टिममा छन् ।
घोषित २० सदस्यिय प्रारम्भिक टिम : सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, कुशल भुर्तेल , आरिफ शेख, आशिफ शेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, गुल्सन झा, करन केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सर्राफ, सुशन भारी, राजु रिजाल, अनिल शाह
नेपाली टिमको बन्द प्रशिक्षण आइतबार देखि सुरु भैसकेको छ।
नेपाली टिम यसै साता अन्तिममा श्रीलंका भ्रमणमा जाने सम्भावना रहेको छ । भ्रमण योजना अनुसार नेपाली टिम त्रिकोणात्मक सिरिज खेल्न युएई प्रस्थान गर्नु अघि १० दिन श्रीलंकामा रहनेछ। त्यस क्रममा टिमले श्रीलंकाको प्रथम श्रेणी टिमहरुसंग अभ्यास खेलहरु खेल्नेछ। टिम ३ तारिखमा त्यसतर्फ प्रस्थान गर्ने सम्भावना छ। १० दिन श्रीलंका बसाइँ पछि श्रीलंकाबाटै टिम युएई प्रस्थान गर्नेछ।
युएई त्रिकोणात्मक सिरिजमा नेपालले युएई र पपुवा न्यु गिनीसंग २/२ वटा खेल खेल्नेछ। नेपालले पहिलो खेल मार्च १६ तारिखमा पपुवा न्यु गिनीसंग, दोश्रो खेल मार्च १८ तारिखमा युएईसंग, तेश्रो खेल मार्च २१ तारिखमा युएईसंग तथा चौंथो खेल मार्च २२ तारिखमा पपुवा न्यु गिनीसंग खेल्ने तालिका छ।
प्रतियोगिता अन्तर्गत नेपालले पपुवा न्यु गिनीसंग पहिलो खेल शारजाह स्टेडियममा खेल्नेछ भने अन्य सबै खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा खेल्नेछ। सबै चारवटा खेल स्थानीय समय ९:३० बजे बिहान र नेपाली समय ११:१५ बजे बिहान सुरु हुनेछ।
प्रतियोगिता लगत्तै नेपाली क्रिकेट टिमले मार्च अन्तिम साता पपुवा न्यु गिनी र मलेसिया सम्मिलित त्रिकोणात्मक टि-ट्वान्टी सिरिज खेल्ने तालिका छ। त्यस अघि पपुवा न्यु गिनी र नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज पनि खेल्ने सम्भावना रहेको छ जुन विश्वकप लिग-२ अन्तर्गत भने रहने छैन।
विश्वकप लिग-२ अन्तर्गत नेपालले हालसम्म मात्र ८ वटा खेल खेलेको छ जसमा ४ जित र ४ हार बेहोर्दै ८ अंक सहित छैठौं स्थानमा छ। पपुवा न्यु गिनी र युएईसंग नेपालले पहिलो सिरिज खेल्न लागेको हो। लिग-२ अंकतालिकामा युएई १० खेलमा ५ जित र ३ हार पछि १२ अंक सहित चौंथो स्थानमा छ भने पपुवा न्यु गिनी सबै १२ खेल हार्दै पुछारमा सातौं स्थानमा छ। ओमान २३ खेलमा ३० अंक सहित पहिलो, स्कटल्याण्ड १२ खेलमा १६ अंक सहित दोश्रो, अमेरिका १६ खेलमा १४ अंक सहित तेश्रो, नामिबिया ९ खेलमा १० अंक सहित पाँचौ स्थानमा छ। लिग-२ अंक तालिकाको शिर्ष-३ स्थानमा रहने टिमले २०२३ को विश्वकप छनोट खेल्ने छ भने चौंथो देखि सातौँ स्थानको टिमले छनोट खेल्ने अर्को मौका स्वरूप विश्वकप छनोट प्लेअफ खेल्नेछ।