पाँचपोखरी टि-२० : सार्थक चम्किंदा पाँच पोखरीको जित

सार्थक धिताल चम्कदा पाँचपोखरी टि२० जिल्लास्तरिय क्रिकेट प्रतियोगितामा पाँचपोखरी क्रिकेट क्लबले लगातार दोस्रो जित हात पारेको छ । पाँचपोखरीले सानु सिरुवारीलाई ७ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको हो ।

७३ रनको विजयी लक्ष्य पाँचपोखरीले १३.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाँचपोखरीको लागि सार्थक धितालले ३८ बलमा ३ चौका र १ छक्कासहित ३१ रनको अविजित इनिङ खेले । राजन धिताल १, विक्की श्रेष्ठ ४, राजु धिताल ५ रनमा आउट हुँदा महेश देउजा २२ बलमा २ चौका र २ छक्कासहित २४ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको सिरुवारी १५.३ ओभरमा ७२ रनमा अल आउट भएको थियो । उसका लागि रञ्जित लामाले ४८ बलमा ४ चौकासहित सर्वाधिक ४३ रन बनाए । पाँच पोखरीका लागि विजय धितालले ४ ओभरम १ मेडनसहित १० रन खर्चेर ४ विकेट लिए । राजु धितालले २ विकेट लिए । सार्थक प्लेयर अफ द म्याच चुनिए । सार्थक लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच चुनिएका हुन् ।

अर्को खेलमा मेलम्चीले इन्द्रावती गाउँपालिकालाई ३९ रनले पराजित गर्यो । मुलपानीमा टस जितेर ब्याटिङ रोजेको मेलम्चीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३० रन बनायो । मेलम्चीका लागि राजु दुलालले ४० बलमा ३ चौकासहित सर्वाधिक ४० रन बनाए । बालकृष्ण दुलाल २२ र सन्जु चौलागाईंले २१ रन बनाए । इन्द्रावतीका राजेश,कपिल, विवेक र अरुणले २-२ विकेट लिए ।

१ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको इन्द्रावती १८.१ ओभरमा ९१ रनमा अल आउट भयो । उसका लागि ओपनर अरुण चौलागाईंले २१ र प्रमोद सापकोटाले ११ रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । मेलम्चीका अनिश दुलाल र सन्जिभ चौलागाईंले ३-३ विकेट लिए । राजु दुलालको नाममा २ विकेट रह्यो ।पाँचपोखरी टि-२० : सार्थक चम्किंदा पाँच पोखरीको जित

२०७८ फाल्गुन १८, बुधबार मा प्रकाशित