श्रीलंका अभ्यास : नेपालको ब्याटिंग धरासायी, गुम्यो ७ विकेट

विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम पहिलो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लब बिरुद्ध प्रतिस्पर्धा गरिरहेको छ।

खेलमा टस जितेर ब्याटिंग रोजेको नेपालले ३० ओभरमा ७ विकेट क्षेतीमा १७७ रन बनाएको छ। माथिल्लो क्रमका ब्याट्सम्यानहरु आउट हुँदा अब नेपालको ब्याटिंग तल्लो क्रमको ब्याट्सम्यानमा निर्भर छ।

नेपालको लागि सर्वाधिक योगदान दिपेन्द्र ऐरीले दिए जो ४३ रन बनाएर आउट भइसकेका छन्। यस्तै आसिफ शेख ३६ रन, बिनोद भण्डारी २२ रन, कमल सिंह ऐरी १५ रन, कुशल भुर्तेल र रोहित पौडेल समान १३ रन, ज्ञानेन्द्र मल्ल २ रन बनाएर आउट भएका हुन्।

श्रीलंका नेभी श्रीलंकाको प्रथम श्रेणी क्रिकेट खेल्ने क्लब हो। जारि खेलमा नेपालले अन्तिम एघारमा आरिफ शेख, भिम शार्की, सोमपाल कामि र पवन सर्राफलाई समाबेश गरेको छैन।

नेपालले अन्तिम एघार : सन्दिप लामिछाने ( कप्तान ) , दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, करन केसी, कुशल भुर्तेल, आसिफ शेख, बिनोद भण्डारी, कमल सिंह ऐरी, सागर ढकाल, रोहित पौडेल, बिक्रम सोब

श्रीलंका नेभी अन्तिम एघार : वरुना मायान्था, भाग्या ईडीविरा, केशरा नुवान्था, एम मदुशंका, थिलिना मधुशंका, डी मधुशान, ए फर्नान्डो, अरभिन्दु अकुरुगोडा, पोर्ना चरुका, एस सथिस, ए अवाद्त

नेपालले भोलि मंगलबार पनि श्रीलंका नेभीसंग अभ्यास खेल खेल्नेछ। त्यसपछि मार्च १० तारिख ( बिहिबार ) श्रीलंका पुलिस तथा मार्च ११ तारिख ( शुक्रबार ) मिश्रित श्रीलंकन प्रथम श्रेणी खेलाडीहरुको टिमसंग खेल्ने तालिका छ।

श्रीलंका भ्रमण सकिएपछि नेपाली टिम मार्च १४ तारिखमा युएई प्रस्थान गर्ने तालिका छ।

लिग-२ अन्तर्गत नेपालले युएई र पपुवा न्यु गिनीसंग त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिजमा नेपालले युएई र पपुवा न्यु गिनीसंग २/२ वटा खेल खेल्नेछ। नेपालले पहिलो खेल मार्च १६ तारिखमा पपुवा न्यु गिनीसंग, दोश्रो खेल मार्च १८ तारिखमा युएईसंग, तेश्रो खेल मार्च २१ तारिखमा युएईसंग तथा चौंथो खेल मार्च २२ तारिखमा पपुवा न्यु गिनीसंग खेल्ने तालिका छ।

२०७८ फाल्गुन २३, सोमबार मा प्रकाशित