श्रीलंका भ्रमण : ऐरीको अर्धशतक बाबजुद नेपालको सामान्य योगफल, माथिल्लो क्रम फ्लप

विश्वकप लिग-२ को तयारीको लागि श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमले दोश्रो अभ्यास खेलमा आज पनि श्रीलंका नेभीसंग प्रतिस्पर्धा गरिरहेको छ।

खेलमा टस हारेर ब्याटिंग गरेको नेपालले ४३.४ ओभरमा १९६ रनमा सम्पूर्ण विकेट गुमाएको छ।

खराब सुरुवात गरेको नेपालको शिर्षक्रमका ब्याट्सम्यानहरु लामो समय क्रिजमा जम्न सकेनन्। निकै खराब लयमा रहेका ज्ञानेन्द्र मल्ल १ रन बनाएर आउट भए भने कुशल भुर्तेल ३ रन, रोहित पौडेल ८ रन तथा बिनोद भण्डारी २ रन बनाएर आउट भए। नेपालले ३० रन बनाउदा ४ विकेट गुमाउन पुग्यो।

त्यसपछि दिपेन्द्र ऐरीले पवन सर्राफसंग अर्धशतकीय साझेदारी गरे। पवन सर्राफ २२ रन बनाएर आउट भए जसपछि दिपेन्द्रले अर्धशतक पुरा गरे। ६३ रन बनाएर दिपेन्द्र आउट भए। त्यसपछि पनि नेपालको विकेट जाने क्रम रोकिएन। भिम शार्कीले २८ तथा बिबेक यादवले २६ रन बनाए। कप्तान सन्दिप लामिछाने १४ रनमा अविजित भए भने सागर ढकाल ८ तथा बिक्रम सोब १ रन बनाएर आउट भए।

नेपालले अन्तिम एघारमा आज पवन सर्राफ, बिबेक यादव, भिम शार्कीलाई मौका दिएको छ। कमल सिंह ऐरी, आसिफ शेख र करन केसीलाई भने बाहिर राखिएको छ।

नेपालको अन्तिम एघार : सन्दिप लामिछाने ( कप्तान ) , दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, बिनोद भण्डारी, सागर ढकाल, बिक्रम सोब, रोहित पौडेल, बिबेक यादव, भिम शार्की र पवन सर्राफ

भ्रमण अन्तर्गत नेपालले हिजो पहिलो खेलमा श्रीलंका नेभीलाई १११ रनले पराजित गरेको थियो। नेपालले पहिले ब्याटिंग गर्दै दिएको २१५ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभीले २८.५ ओभरमा १०३ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको थियो।

नेपालले भ्रमणमा ४ वटा अभ्यास खेल खेल्नेछ। यस पछि मार्च १० तारिख ( बिहिबार ) श्रीलंका पुलिस तथा मार्च ११ तारिख ( शुक्रबार ) मिश्रित श्रीलंकन प्रथम श्रेणी खेलाडीहरुको टिमसंग खेल्ने तालिका छ।

श्रीलंका भ्रमण सकिएपछि नेपाली टिम मार्च १४ तारिखमा युएई प्रस्थान गर्ने तालिका छ।

लिग-२ अन्तर्गत नेपालले युएई र पपुवा न्यु गिनीसंग त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिजमा नेपालले युएई र पपुवा न्यु गिनीसंग २/२ वटा खेल खेल्नेछ। नेपालले पहिलो खेल मार्च १६ तारिखमा पपुवा न्यु गिनीसंग, दोश्रो खेल मार्च १८ तारिखमा युएईसंग, तेश्रो खेल मार्च २१ तारिखमा युएईसंग तथा चौंथो खेल मार्च २२ तारिखमा पपुवा न्यु गिनीसंग खेल्ने तालिका छ।

२०७८ फाल्गुन २४, मंगलवार मा प्रकाशित