आईसीसी विश्वकप लिग-२ अन्तर्गत युएईमा जारि त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको चौंथो खेलमा ओमानले आयोजक युएईलाई ८ रनले पराजित गरेको छ।
दुबई स्थित आईसीसी क्रिकेट एकेडेमीमा सम्पन्न खेलमा ओमानले दिएको २२२ रनको लक्ष्य पछ्याएको युएईले ४८.३ ओभरमा २१३ रनमा सम्पूर्ण विकेट गुमायो।
लक्ष्य पछ्याउने क्रममा एक समय युएईले राम्रो सुरुवात गर्यो। ओपनर मुहम्मद वासिम १९ रन बनाएर आउट भएपछि चिराग सुरी र भृत्य अरविन्दले ७७ रनको साझेदारी गरे। अरविन्द २९ रन बनाएर आउट भएपछि भने युएईले निरन्तर अन्तरलमा विकेट गुमायो। ३४ औं ओभरमा फयाज बटले ६३ रन बनाएका सुरीको विकेट लिएपछि ओमान खेलमा फर्कियो। त्यसपछि रोहन मुस्तफाले एक किनार सम्हालेता पनि अर्को किनारमा ब्याट्सम्यानहरु लामो समय जम्न सकेनन्। फलस्वरुप १८४/५ को अवस्थाबाट युएईले थप २९ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो। मुस्तफाले अविजित २३ रन बनाए।
ओमान बलर फयाज बटले सर्वाधिक ३ विकेट ( ९.३-०-२८-३ ) , खवर अलिले २ विकेट ( १०-१-३७-२ ) लिए भने बिलाल खान, कलेमुल्लाह र जिशान मक्सुदले समान १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको ओमानले ५० ओभरमा ७ विकेट क्षेतीमा २२१ रन बनाएको थियो। उसको लागि खवर अलिले सर्वाधिक ६३ रन, कश्यप प्रजापतिले ४४ रन, आयान खानले ३१ रन, सन्दिप गौडले अविजित २१ रन तथा जिशान मक्सुदले २० रन योगदान दिए। खवर अलिले आयान खानसंग पाँचौ विकेटको लागि ७७ रनको महत्वपूर्ण साझेदारी गरे। युएई बलर जहुर खानले ४ विकेट ( १०-०-५१-४ ) तथा बसिल हमिदले २ विकेट ( ७-२-२३-२ ) लिए।
सिरिज अन्तर्गत यस अघिको खेलमा पनि ओमानले युएईलाई १२ रनले पराजित गरेको थियो। ओमान नामिबियासंग भने ११० रनले पराजित भएको थियो भने युएईले नामिबियालाई ३ विकेटले पराजित गरेको थियो।
२६ खेलमा १६ जित, ८ हार, १ बराबरी र १ नतिजाविहिन खेलपछि ओमान ३४ अंक सहित विश्वकप लिग-२ अंकतालिकाको शिर्ष स्थानमा छ। १३ खेल खेलेको युएईको ६ जित, ५ हार, १ बराबरी र १ नतिजाविहिन खेल पछि १४ अंक छ। स्कटल्याण्ड १२ खेलमा १६ अंक सहित दोश्रो, अमेरिका १६ खेलमा ७ जित पछि १४ अंक सहित चौंथो स्थानमा छ। नामिबिया ११ खेलमा ६ जित पछि पाँचौ स्थानमा छ। नेपाल ८ खेलमा ४ जित र ४ हार पछि ८ अंक सहित छैठौं स्थानमा तथा जितविहिन पपुवा न्यु गिनी १२ खेलमा अंकविहिन रहँदै सातौँ स्थानमा छ।