एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौँको मुटुमा अवस्थित लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ । विभिन्न सुविधाहरुसहित पुनर्निर्माण तथा स्तरोन्नतिपश्चात् हालै काठमाडौँ महानगरपालिका वडा नं २६ लाई एक समारोहबीच हस्तान्तरण गरिएको सो मैदान आमनागरिकका लागि खुला गरिएको छ ।
यो परियोजना पूर्णरूपमा वडा नं २६ र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुनर्निर्माण तथा स्तरोन्नत्ति गरिएको हो । नवनिर्मित यस बहुद्देश्यीय लैनचौर मैदान खुला गरिएको अवसरमास्थानीय क्लब र एनसेल कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेलको पनि आयोजना गरिएको थियो ।
५४ हजार ९२१ वर्गफिट क्षेत्रमा फैलिएको यो मैदानमा ७ ‘ए’ साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिकाको खेल्ने क्षेत्र, ५० रुख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुङ्गेधारा, सार्वजनिक शौचालय, सोलार बत्तीजस्ता सुविधा छन् । स्थानीय समुदाय र वडा नं २६ को अनुरोधअनुसार एनसेलले यसको निर्माण र मर्मतसम्भारको जिम्मेवारी लिएको थियो । कम्पनीले आगामी दुई वर्षसम्मका लागि मर्मतसम्भार गर्नेछ ।
मैदानमा अन्तर्राष्ट्रियस्तरको एस्ट्रोटर्फ बिच्छाई मिनी फुटबल मैदान बनाइएको छ । वातावरणीय पक्षलाई ध्यानमा राखी आवश्यक सबै प्रक्रिया अपनाएर एस्ट्रोटर्फ लगाइएको छ । टर्फमुनि जमिनका चारैतिर ३ फिट व्यास र १० देखि १५ फिट गहिराइका १३ वटा इनार बनाइएका छन् । वर्षायाममा पानी रिचार्जका लागि सबै इनारमा जम्मा हुँदै बढी पानीमात्र मुख्य निकासमार्फत जाने व्यवस्था गरिएको छ । पानीको निकासका लागि पनि उचित व्यवस्था छ ।
एनसेलले आफ्नो सामाजिक पहलअन्तर्गत स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनमा सहयोगलगायत क्षेत्रमा एक अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको योगदान गर्दै सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्याएको छ । स्वास्थ्य, शिक्षा र वातावरण क्षेत्र सधैँ प्राथमिकतामा रहेको एनसेलले जनाएको छ ।