श्रीलंका मिश्रित-११ संग नेपाल पराजित, ज्ञानेन्द्रले बनाए सर्वाधिक स्कोर

श्रीलंका भ्रमण अन्तर्गत चौंथो तथा अन्तिम अभ्यास खेलमा नेपाल श्रीलंका मिश्रित-११ टिमसंग ९२ रनले सहजै पराजित भएको छ। भ्रमण अन्तर्गत नेपालले अघिल्लो तिन खेलमा जित दर्ता गरेको थियो।

श्रीलंकन स्टार क्रिकेटरहरु सम्मिलित श्रीलंका मिश्रित-११ ले दियिएको २३३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३५.२ ओभरमा १४० रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

लक्ष पछ्याउने क्रममा ओपनर आसिफ शेख ५ रन बनाएर आउट भएपछि कुशल भुर्तेल र ज्ञानेन्द्र मल्लले अर्धशतकीय साझेदारी गरे। भुर्तेल ४८ बलमा ३२ रन बनाएर आउट भएपछि भने नेपालले लगातार विकेट गुमायो। फर्ममा रहेका दिपेन्द्र ऐरी ३ रन बनाएर आउट भए। आरिफ शेख १३ तथा बिनोद भण्डारी १ रन बनाएर आउट भए।

ज्ञानेन्द्र मल्ल पनि अर्धशतक बनाउन चुक्दै ४६ रन बनाएर आउट भए जुन क्रममा ६२ बलमा ५ चौका र १ छक्का प्रहार गरे। मल्लले अन्तिम पटक ओमान बिरुद्ध गत वर्ष सेप्टेम्बरमा अर्धशतक बनाएपछि घरेलु र अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक माथिको स्कोर बनाउन सकेका छैनन्। ज्ञानेन्द्रको विकेट गुमेपछि नेपालले लगातार विकेट गुमायो फलस्वरुप १०७/३ को अवस्थाबाट थप ३३ रन जोड्दा नेपालले सम्पूर्ण विकेट गुमायो। रोहित पौडेलले २१ रन बनाए भने सोमपाल कामिले ८ रन बनाए। बिक्रम सोब खाता नखोली आउट हुँदा सगर ढकालले १ रन बनाए भने कप्तान सन्दिप लामिछाने खाता नखोली अविजित रहे।

श्रीलंका मिश्रित-११ को बलिंगमा देब्रे हाते स्पिनर सुदरा दक्षिणाले सर्वाधिक ३ विकेट लिए। दिलशान मुनविराले २ विकेट तथा सेक्कुगा प्रशन्ना, दिलंका औवादत, एस कुमारस्वामी र सदुन विराक्कोडीले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको श्रीलंका-११ ले ४८.२ ओभरमा २३२ रनमा सम्पूर्ण विकेट गुमाएको थियो।

ओपनर दिलशान मुनविरा र सन्दुन विराक्कोडीले श्रीलंकालाई उत्कृस्ट सुरुवात दिलाए जसले ६१ रनको ओपनिंग साझेदारी गरे। देब्रे हाते स्पिनर सागर ढकालले १४ रन बनाएका मुनविराको विकेट लिएपछि श्रीलंका-११ लगातार विकेट गुमायो। अर्धशतक बनाउन १ रनले चुक्दै विराक्कोडी ४८ बलमा ९ चौका मद्दतले ४९ रन बनाएर आउट भए।

उपुल थारांगा ३ रन, कप्तान थिसारा परेरा ८ रन, चमरा सिल्भा ६ रन तथा रमेश निस्मन्था १८ रन बनाएर आउट भए। १०४ रन बनाउदा श्रीलंका-११ ले ६ विकेट गुमायो। दिपेन्द्र ऐरी र सागर ढकालले मध्यक्रम ब्याट्सम्यानको लगातार विकेट लिए। त्यसपछि अनुक फर्नान्डोले अन्तिममा एस कुमारस्वामीसंग साझेदारी गर्दै योगफल दुई समय पार गराए। फर्नान्डोले ६९ बलमा ५६ तथा कुमारास्वामीले ३० रन बनाए।

नेपालको बलिंगमा दिपेन्द्र ऐरी (१०-०-३६-३) र सागर ढकालले ( ९-२-२१-३ ) समान तिन विकेट लिए। आरिफ शेख ( -१-२२-१ ), सोमपाल कामि ( ९-०-५५-२ ) र सन्दिप लामिछानेले ( ९.२-०-६१-१ ) समान एक विकेट लिए। बिक्रम सोब ( ५-०-३५-० ) विकेटविहिन रहे।


श्रीलंका मिश्रित-११ टिम :
थिसारा परेरा ( कप्तान ) , उपुल थारांगा, दिलशान मुनविरा, सदुन विराक्कोडी, सेक्कुगे प्रशन्ना, दिलरुवान परेरा, चमरा सिल्भा, धम्मिका प्रशाद, रमेश निमन्था, अनुक फर्नान्डो र दिलंका औवादत्

नेपालको अन्तिम एघार :
सन्दिप लामिछाने, दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, बिनोद भण्डारी, सागर ढकाल, सोमपाल कामि, बिक्रम सोब, रोहित पौडेल, आरिफ शेख

नेपाली टिम मार्च १४ तारिखमा युएई प्रस्थान गर्ने तालिका छ। विश्वकप लिग-२ अन्तर्गत नेपालले युएई र पपुवा न्यु गिनीसंग त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिजमा नेपालले युएई र पपुवा न्यु गिनीसंग २/२ वटा खेल खेल्नेछ। नेपालले पहिलो खेल मार्च १६ तारिखमा पपुवा न्यु गिनीसंग, दोश्रो खेल मार्च १८ तारिखमा युएईसंग, तेश्रो खेल मार्च २१ तारिखमा युएईसंग तथा चौंथो खेल मार्च २२ तारिखमा पपुवा न्यु गिनीसंग खेल्ने तालिका छ।

२०७८ फाल्गुन २७, शुक्रबार मा प्रकाशित