बागमती प्रदेश खेलकुद सुरु

काठमाडौँ, फाल्गुन २९ गते । प्रथम बागमतीे प्रदेश खेलकुद प्रतियोगिता शनिबारदेखि हेटौँडामा सुरु भएको छ । हेटौंडा स्थित पिप्ले क्याम्पा रंगशालामा मुख्यमन्त्री राजेन्द्र पाण्डेले ओलम्पियन बैकुण्ठ मानन्धरलाई ओलम्पिक ट्रर्च हस्तान्तर गरेपछि १५ दिने प्रतियोगिताको विधिवत उद्घाटन भएको थियो ।

उद्घाटन अवसरमा मुख्यमन्त्री पाण्डेले प्रदेश खेलकुदको उद्घाटन गर्न अवसर मिलेको गौरवको अनुभूति भएको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले हेटौडामा खेलकुद एकेडेमी संचालन तथा खेलकुद विश्वविद्यालयका स्थापनका लागि पहल कदमी लिने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्ड सहितको प्रस्तुती, विद्यार्थीहरुको ड्रिल प्रदर्शन, अतिसबाजी, तेक्वान्दोको प्रदर्शनी, विभिन्न तामाङ, नेवाः, थारु समुदायले आफ्नो झाँकी तथा खैजेडी र पञ्चेबाजाको साँस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरिएको थियो ।

बागमती प्रदेशका १३ जिल्लाको सहभागिता रहको प्रतियोगितामा एथलेटिक्स, फुटबल, भलिबल, कराते, तेक्वान्दो, ब्याडमिन्टन, क्रिकेट र बक्सिङ खेलका १८ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न बागमतीप्रदेश युवातथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालको संयोजकत्वमा मूलआयोजक समिति गठन गरिएको छ । प्रदेश खेलकुदविकास परिषद् बागमतीका सदस्य सचिव महासचिव रहेको मूलआयोजक कमिटिले बिभिन्न पाँच वटा उपसमिति पनि गठन गरेको छ ।

पिप्ले क्याम्पा रंगशालामा फुटबल र थानाभर्याङ कभर्डहलमा ब्याडमिन्टन, चितवनको माडी खेल मैदानमा महिला र पुरुष भलिबल, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा महिला र पुरुष क्रिकेटका खेल संचालन हुने छन् । हेटौडाको भुटनदेवी स्कुलमा तेक्वान्दो, काठमाडौँको दशरथ रंगशालामा एथलेटिक्स र सिन्धुपालञ्चोकमा कराते हुनेछ ।

काभ्रेको धुलीखेलमा फुटबल र बक्सिङ चैत १२ गते समापन हुनेछ । प्रतियोगिता सम्पन्न गर्न आठ करोड चार लाख रुपियाँ खर्च हुने प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ ।

२०७८ फाल्गुन २९, आईतवार मा प्रकाशित