स्वस्तिश्री गुरुकुल क्वार्टरफाइनलमा

काठमाडौं,चैत १– आयोजक स्वस्तिश्री गुरुकुल पहिलो स्वस्तिश्री गुरुकुल अन्तरविद्यालय यु–१२ फुटसल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।
सानोभ¥याङस्थित आफ्नै फुटसल मैदानमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा समूह ‘ए’ को स्वस्तिश्री गुरुकुलको सिनियरले क्वार्टरफाइनलमा स्थान बनाएको हो । स्वस्तिश्री यस समूहमा एक जित र एक बराबरीका साथ क्वार्टरफाइनलमा पुग्यो ।

द एक्सेल्सियर स्कुलसँग १÷१ को बराबरी खेलेको स्वस्तिश्रीले दोस्रो खेलमा भने जोन डेवेमाथि ४–० को फराकिलो जित निकाल्दै समूह विजेता बन्यो । स्वस्तिश्रीले क्वार्टरफाइनलमा समूह ‘बी’ को उपविजेतासँग खेल्ने । अर्को क्वार्टरफाइनलमा समूह ‘ए’ को उपविजेता द एक्सेल्सियरले समूह ‘बी’ विजेतासँग खेल्नेछ ।
यस समूहबाट नेपालयले नकआउट चरणमा स्थान बनाउँदा स्वस्तिश्री जुनियर र स्वस्तिश्री स्पोट्र्स एकेडेमी दुवैको अन्तिम आठको सम्भावना बाँकी छ । बुधबार हुने एक मात्र लिग खेलमा स्वस्तिश्री जुनियर र एकेडेमी बीचको खेलबाट समूहविजेता र उपविजेता तय हुनेछन् ।

समूह ‘सी’बाट आदर्श विद्या मन्दिर (एभिएम) समूह विजेता र रिब्स उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरे । एभिएमले पहिलो खेलमा न्यु इरालाई ५–३ ले हराउँदै दोस्रो खेलमा रिब्समाथि ३–२ को जित निकाल्यो ।

दिनको अन्तिम लिग खेलमा रिब्सले न्यु इरामाथि ३–० को जित निकाल्दै अन्तिम आठको यात्रा तय ग¥यो । दुई टोली मात्र रहेको समूह ‘डी’ मा ब्राइट फ्युचरले युरो स्कुलमाथि २–१ को जित निकाल्दै समूह विजेताको रूपमा अन्तिम आठमा प्रवेश ग¥यो । बुधबार हुने क्वार्टरफाइनलमा ब्राइट फ्युचर भिड्नेछन् ।

तीन दिनसम्म हुने प्रतियोगितामा कुल ११ टोलीलाई चार समूहमा विभाजन गरिएको र समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् । मंगलबार एक भव्य समारोह आयोजना गर्दै स्वस्तिश्री गुरुकुल स्कुलका अध्यक्ष रामकृष्ण चित्रकार र स्कुलका ब्रान्ड एम्बास्डरसमेत रहेका फुटबलर अनिल गुरुङले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
सो अवसरमा विद्यालयका म्यानेजिङ डाइरेक्टर मिना महर्जन र एकेडेमी डाइरेक्टर प्रवीण मोक्तानले खेल विकासमा विद्यालयको भूमिका अहम् हुने धाराण राखेका थिए । प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टोलीले ट्रफी पाउनेछन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र फेयर प्ले टोलीले पनि ट्रफी पाउनेछन् । प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ ।

२०७८ चैत्र १, मंगलवार मा प्रकाशित