रोहितको कीर्तिमानी शतक बाबजुद नेपाल पराजित

पहिलो एकदिवसीयमा घरेलु टोलि नेपाललाई ६ रनले पराजित गर्दै भ्रमण टोलि पपुवा न्यु गिनीलेले २ खेलको एकदिवसीय शृंखलामा सुरुवाती अग्रता लिएको छ । यो पपुवा न्यु गिनीको एकदिवसीयमा नेपालमाथि पहिलो जित हो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा २९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रनमात्र बनाउन सक्यो ।

ओपनरद्वय कुशल भुर्तेल र अनिल शाहले पहिलो विकेटको लागि ३६ रन जोडे । अनिल ६ रनमा आउट भएपछि नेपालको टप अर्डर धराशायी बन्यो । फलस्वरूप नेपालले ७३ रनको योगफलमै ४ विकेट गुमाउँन पुग्यो । त्यसपछि रोहित पौडेल र आरिफ शेखले पाचौं विकेटको लागि १०४ रनको शतकीय साझेदारी गर्दै नेपालको इनिंग्स उकासे ।

६४ बलमा ३४ रन बनाएका शेखलाई असद भालाले सानदार कट एण्ड बोल्ड आउट पार्दै साझेदारी तोडे । आरिफको विकेटपछि रोहितले भिम शार्कीसँग ४० तथा पवन सर्राफसँग २५ रनको साझेदारी गर्दै नेपालको इनिंग्स सम्हाले । भिमले १७ तथा पवनले ७ रन बनाए ।

एक किनार सम्हाल्दै जिम्मेवारीपूर्वक ब्याटिंग गरेका रोहित पनि ४६औं ओभरमा भानुवाको शिकार भए । रोहितको विकेटपछि नेपाल थप दबाबमा पुग्यो । अन्तिममा सोमपाल कामि र कमल सिंह एरीले अविजित ३७ रनको साझेदारी गरेपनि नेपाललाई जितसम्म डोर्याउन सकेनन् ।

१०७ बलमा ७ चौका र ४ छक्काको मद्धतमा १२६ रन बनाएका रोहित एकदिवसीयमा नेपालको लागि शतक बनाउँने दोस्रो खेलाडी बनेका छन् । यसअघि पुर्व कप्तान पारस खड्काले सन् २०१९ मा युएईविरुद्ध एकदिवसीयमा १०९ बलमा ११५ रन बनाएका थिए ।

यस्तै रोहित एकदिवसीयमा नेपालको लागि सर्वाधिक रन बनाउँने खेलाडी समेत बनेका छन् । हालसम्म १६ एकदिवसीय खेलमा ५६२ रन बनाएका रोहितले १९ एकदिवसीयमा ४८० रन बनाएका ज्ञानेन्द्र मल्ललाई उछिनेका हुन् ।

पपुवा न्यु गिनीको बलिंगतर्फ भानुवाले (१०-०-६३-३) सर्वाधिक ३ विकेट लिए । यस्तै, असाद भाला र चार्ल्स अमिनीले २ तथा नोसैना पोकानाले १ विकेट लिए ।

यसअघि खेलमा टस हारेर ब्याटिंग गरेको पपुवा न्यु गिनीले ८ विकेट क्षेतीमा २९२ रन बनाउदै नेपाललाई २९३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपाल बिरुद्ध पपुवा न्यु गिनीको यो अहिलेसम्मकै सर्वाधिक स्कोर हो।

पपुवा न्यु गिनीको ब्याटिंगमा चार्ल्स अमिनीले सर्वाधिक ७७ रनको योगदान दिए जुन क्रममा १०३ बलमा ६ चौका र १ छक्का प्रहार गरे। असद भालाले ६०, नोर्मन भुवाले ४७ तथा राइली हेकुरेले ३१ रन योगदान दिए।

नेपालका बलर कमल सिंह ऐरी ( ९-०-५६-२ ), दिपेन्द्र ऐरी ( १०-१-३०-२ ) र सोमपाल कामिले ( ९-०-८१-२ ) समान २ विकेट लिए। कप्तान सन्दिप लामिछाने ( १०-०-६२-१ ) , पवन सर्राफ ( ५-०-२५-१ ) ले १/१ विकेट लिए।

खेलमा नेपालको लागि दायाँ हाते ब्याट्सम्यान देव खनालले डेब्यु गरे । देवलाई कप्तान सन्दिप लामिछानेले डेब्यु क्याप दिएका थिए ।

२०७८ चैत्र ११, शुक्रबार मा प्रकाशित