कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल : हिमालयन, सगरमाथा, गुल्मी र फारवेस्ट सेमीफाइनलमा

द हिमालयन क्लव अस्ट्रेलियाको आयोजनामा अस्ट्रेलियाको मेलबर्नमा जारि कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल २०२२ ‘द हन्ड्रेड’ प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ।

शनिवार सम्पन्न समुह चरणको खेलपछि समुह ‘ए’ बाट विजेता र उपविजेताको रुपमा द हिमालयन क्लब र गुल्मी टाइगर्स तथा समुह ‘बि’ को विजेता र उपविजेताको रुपमा एक्स्पर्ट सगरमाथा ब्लुज र फारवेस्ट हन्टर्स क्रिकेट क्लब सेमीफाइनल प्रवेश गरेका हुन्। द हिमालयन क्लब र एक्स्पर्ट सगरमाथा ब्लुजले सबै तिन खेलमा जित दर्ता गर्यो भने गुल्मी टाइगर्स र फारवेस्ट हन्टर्सले ३ खेलमा समान २ जित र १ हार बेहोर्यो।

आइतबार स्थानीय समय विहान ९ बजे दुई वटा सेमीफाइनल खेलहरु तथा १२:४५ बजे दिउँसो फाइनल खेल हुनेछ। पहिलो सेमी फाइनलमा द हिमालयन क्लब र फारवेस्ट हन्टर्स तथा दोश्रो सेमीफाइनलमा एक्स्पर्ट सगरमाथा ब्लुज र गुल्मी टाइगर्स बीच प्रतिस्पर्धा हुनेछ।

शनिवार सम्पन्न पहिलो खेलमा फारवेस्ट हन्टर्सले एभरेष्ट लायन्सलाई ५१ रनले पराजित गर्यो। फारवेस्टले दिएको १८० रनको लक्ष्य पछ्याउने क्रममा एभरेष्ट लायन्सले निर्धारित १०० बलमा ५ विकेट क्षेतीमा १२८ रन बनायो।

फारवेस्टको जितमा ब्याटिंगतर्फ आर्यन बिस्टले ४१ तथा संजय खत्रीले ४० रन बनाए भने बलिंगतर्फ प्रजिन लामा र प्रदिप कुँवरले १/१ विकेट लिए। एभरेष्ट लायन्सको ब्याटिंगमा प्रभिन ढकाल र दर्पण अधिकारीले समान २८ रन तथा बलिंगतर्फ आदित्य पाण्डेले ३ विकेट लिए। खेलको प्लेयर अफ द म्याच संजय खत्री घोषित भए।

दिनको दोश्रो खेलमा एक्स्पर्ट सगरमाथा ब्लुजले मभेन क्रिकेट क्लबलाई ९७ रनको विशाल अन्तरले पराजित गर्यो। एक्स्पर्ट सगरमाथाले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याएको मभेनले १०० बलमा ७ विकेट क्षेतीमा १२७ रन बनायो।

एक्स्पर्ट सगरमाथाको जितमा ब्याटिंगतर्फ हरभिन्दर सिंहले शतकीय योगदान दिने क्रममा ११८ रन तथा हम्जा अलिले ६६ रन बनाए। यस्तै बलिंगतर्फ पारस लामिछानेले ३ विकेट लिए। मभेनको ब्याटिंगमा साइरस श्रेष्ठले ३१ तथा मनिष भुषालले २७ रन बनाए भने बलिंगतर्फ सन्जोग दाहालले २ विकेट लिए। खेलको प्लेयर अफ द म्याच हरभिन्दर सिंह घोषित भए।

दिनको तेश्रो खेलमा द हिमालयन क्लबले गुल्मी टाइगर्सलाई ४८ रनले पराजित गर्यो। द हिमालयन क्लबले दिएको २०८ रनको लक्ष्य पछ्याएको गुल्मीले १०० बल ब्याटिंग गरेता पनि ५ विकेट क्षेतीमा १५९ रन मात्र बनायो।

द हिमालयन क्लबको जितमा ब्याटिंगतर्फ सरोज क्षेत्रीले ६१ तथा सुनिल थापाले ४८ रन बनाए भने बलिंगतर्फ रोशन पौडेलले २ विकेट लिए। गुल्मी टाइगर्सको ब्याटिंगमा आकाश क्षेत्रीले ६५ तथा जेसन डुगले ५५ रन बनाए भने बलिंगतर्फ दिपेश गुरुङले ३ विकेट लिएता पनि जित्न पर्याप्त भएन। खेलको प्लेयर अफ द म्याच सरोज क्षेत्री घोषित भए।

दिनको चौंथो खेलमा रोयल राइनोज क्रिकेट क्लबले गोर्खाली क्रिकेट क्लबलाई २ विकेटले परजित गर्यो। रोयल राइनोजले दिएको १२७ रनको लक्ष्य गोर्खालीले ८ विकेट क्षेतीमा भेटायो।

गोर्खालीको जितमा ब्याटिंगतर्फ सुरेश क्षेत्रीले ३४ तथा निर्माण वाग्लेले ३२ रन बनाए भने बलिंगतर्फ प्रदिप अधिकारी र निर्माण वाग्लेले २/२ विकेट लिए। रोयल राइनोजको ब्याटिंगमा चन्द श्रेष्ठले ३४ तथा बिक्रम अधिकारीले २६ रन बनाए भने बलिंगतर्फ चन्द श्रेष्ठ र दिपेश बिस्टले २/२ विकेट लिए। खेलको प्लेयर अफ द म्याच निर्माण वाग्ले घोषित भए।

प्रतियोगिताको विजेताले तिन हजार डलर र दोश्रो हुनेलाई एक हजार डलर नगद राशीको साथमा कप, पदक र प्रमाणपत्रको व्यबस्था गरिएको छ।

प्रतियोगितालाई क्रिकेट भिक्टोरिया, हार्मनी इन क्रिकेट एसोसिएसन र अन्य नेपाली सामुदायिक क्रिकेट क्लब तथा संघसंस्थाहरुको सहयोग रहेको छ । कार्निभलमा बालबालिकाहरुका लागि टुर्नामेन्टको अन्तिम दिनमा फाइनल खेलभन्दा अगाडी क्रिकेट क्लिनिक रहने आयोजक क्लबले जनाएको छ। र, सहभागी बालबालिकाहरुलाई मेडल समेत प्रदान गरिनेछ।

२०७८ चैत्र १२, शनिबार मा प्रकाशित