थाई क्लब चोनबुरीसँग नेपाल पराजित

नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण फुटबलमा थाइल्यान्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसँग पराजित भएको छ । चोनबुरी स्टेडियममा आइतबार भएको खेलमा नेपाल चोनबुरीसँग ३–१ गोलले पराजित भयो ।

चोनबुरीका लागि फान्थामित प्रनात, रेनाटो केलिक र नाट्टापोङले एक एक गोल गर्नुभयो । नेपालका दर्शन गुरुङले सान्त्वना गोल फर्काउनु भएको थियो । नेपालले एएफसी एसियन कप छनोटको तयारीका लागि थाइल्यान्डको शीर्ष क्लबसँग मैत्रीपूर्ण अभ्यास खेल खेलेको हो ।

नेपाली टोलीले बिहीबार थाइल्यान्डको राष्ट्रिय टोलीसँग पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको थियो । नेपाली टोली थाइल्यान्डसँग २–० गोलले पराजित भएको थियो । एएफसी एसियन कप छनोट खेलमा नेपाल समूह ‘ए’ मा छ । समूहमा नेपालसहित कुवेत, जोर्डन र इन्डोनेसिया छन् । नेपालका लागि यो समूह तुलनात्मक रुपमा निकै कठिन समूह हो ।

समूह चरणको खेल जुन ८ देखि १४ सम्म कुवेतमा आयोजना हुनेछ । एएफसीले छनोटमा सहभागी २४ देशलाई ६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहको शीर्ष टोली र पाँच उत्कृष्ट दोस्रो टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछन् ।

( गोरखापत्रबाट )

२०७८ चैत्र १३, आईतवार मा प्रकाशित