पीएम कपको उपाधिका लागि नेपाल पुलिस र हरियाणा भिड्ने

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भारतको हरियाणा स्पोर्टस र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

नेपालगन्ज रंगशालास्थित कभर्डहलमा जारी प्रतियोगितामा आइतबार हरियाणाले न्यू डायमन्डलाई तथा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।

पहिलो सेमिफाइनलमा हरियाणाले न्यू डायमन्डलाई २५–१७, २५–१५, २३–२५, २५–१६ को स्कोरमा हराएको थियो । हारका बाबजुद न्यू डायमन्ढकी प्रतिभा माली प्लेयर अफ दी म्याच घोषित भइन् ।

दोस्रो सेमिफाइनलमा नेपाल पुलिसले त्रिभुवन आर्मीलाई २५–१८, २५–२३, २८–२६ को स्कोरमा हराएको हो । पुलिसकी कामना विष्ट प्लेयर अफ दी म्याच घोषित भइन् ।

तेस्रो स्थानका लागि आर्मी र न्यू डायमन्डबीच सोमबार ११ बजे तथा हरियाणा र पुलिसबीच दिउँसो १ः०० बजे फाइनल खेल हुने छ ।

प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो हुने टिमले एक लाख र चौँथो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्ने छन् ।

प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौँमा एपीएफ, छैटौँमा पुलिस र सातौँमा एपीएफ च्याम्पियन बनेका थिए । एपीएफ प्रतियोगितामा अनुपस्थित छ ।

२०७८ चैत्र १३, आईतवार मा प्रकाशित