राष्ट्रिय घोडचढी प्रतियोगिता शुक्रबार

काठमाडौँ, चैत २१ गते । सातौँ संस्करणको राष्ट्रिय घोडचढी प्रतियोगिता चैत २५ गते शुक्रबार टुँडिखेलमा हुने भएको छ । नेपाल घोडचढी संघले नेपाली सेनाको सहयोगमा टुँडिखेलमा घोडचढी प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा हर्स शो जम्प, हर्स हाई जम्प, ड्रेएज कम्पिटिसन, हर्स टेन्ट पेगीङ व्यक्तिगत र टिम प्रतिस्पर्धा गरी पाँच स्पर्धा समावेश गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष रवि राजकर्णिकारले जानकारी दिनुभयो ।

प्रतियोगितामा ४० खेलाडीको सहभागिता रहनेछ । सबै विधाका विजेता, उपविजेता र तेस्रो हुने खेलाडीलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपियाँ सहित पदक प्रदान गरिने छ । यसैगरी विजेता र उत्कृष्ट घोडालाई पनि सम्मान गरिने संघले जनाएको छ ।

२०७८ चैत्र २२, मंगलवार मा प्रकाशित