नवौँ राष्ट्रिय खेलकुदमा ३८ खेल

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद र चीनमा भदौ २५ देखि असोज ९ गतेसम्म आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा सहभागि खेलको संख्या तय गरेको छ ।

राखेपका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा शुक्रबार बसेको राखेपको ११२औँ बोर्ड बैठकले नवौँ राष्ट्रिय र एसियाडमा समावेश हुने खेल संख्या तय गरेको हो । तीन बर्षपछि बसेको राखेपको बोर्ड बैठकले खेल संख्याका साथै अन्य नितिगत निर्णय समेत गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिनुभयो ।

बोर्ड बैठकले गण्डकी प्रदशेको राजधानी पोखरा र प्रदेश अन्तर्गत ११ वटै जिल्लामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदमा ३८ खेल समावेश गरेको छ । समावेश खेलहरुमा एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टीक, कबड्डी, भारत्तोलन, सुटिङ र पौडी छन् ।

यसैगरी ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल कन्ट्याक्ट कराते, आईटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाईडिङ र रग्वी पनि समावेश छन् । पहिलो पटक छेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा समावेश गर्ने निर्णय गरिएको सदस्यसचिव घिसिङले बताउनुभयो ।

बोर्ड बैठकले नयाँ खेलकुद ऐन २०७७ अनुसार प्रतियोगिता सञ्चालनका लागि आवश्यक निर्देशिका पारित गर्नुका साथै जापानमा गतबर्ष भएको ओलम्पिक गेम्समा नेपाली टोलीको सहभागिताको खर्च पारित गर्ने, संघ संस्थाको निर्देशिका पारित गर्ने लगायत निर्णय गरेको जानकारी पनि घिसिङले दिनुभयो ।

नवौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, विभागीय टोलीको नेपाल पुलिस, एपिएफ र त्रिभुवन आर्मी तथा एनआरएनएगरी ११ टोलीको सहभागिता रहनेछ । नयाँ ऐनअनुसार पहिलो पटक प्रदेश र सम्बन्धित विभागले नै खेलाडी छनोट गर्नेछन् । सबै टोलीले जेठ १० गतेसम्म राष्ट्रिय खेलमा सहभागि हुने खेलाडीको नाम दर्ता गरिसक्नुपर्ने बताईएको छ ।

एसियाडमा २३ खेल

राखेपको बोर्ड बैठकले चीनको होङझोउमा हुने १९औँ संस्करणको एसियाडमा नेपालले २३ खेलमा सहभागिता जनाउने निर्णय गरको छ । बोर्ड वैठकले एसियाडका लागि सहभागी खेलसंख्या र अनुमानित खेलाडी, प्रशिक्षक, ब्यवस्थापक पदाधिकारी र निर्णायकको संख्या निर्धारण गरेको हो । एसियाडका लागि १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा सम्बन्धित खेल र खेलाडीको प्रदर्शनका आधारमा सहभागि खेलको निर्धारण गरिएको सदस्य सचिव घिसिङले बताउनुभयो ।

एसियाडमा नेपालले तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, पौडी, ट्रायथोलन, उशु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, टेबलटेनिस, महिला भलिबल, पुरुष टी–२० क्रिकेट, सुटिङ र ब्याडमिन्टन रहेको छ ।

एसियाडमा विगतमा जस्तो खेलाडी भन्दा पदाधिकारीको लर्को जाने काम यसपटक नहुने पनि सदस्य सचिव घिसिङले प्रतिबद्धता जनाउनुभयो । एसियाडमा एक सय ५० खेलाडी, २५ प्रशिक्षक र २० जना ब्यवस्थापक हुने राखेपले उल्लेख गरेको छ ।

यसअघि राष्ट्रिय खेलकुद प्रतियोगितालाई एसियाड खेलकुदको छनोटको रुपमा लिने गरिन्थ्यो । यसपटक मे पहिलो साता भित्र एसियाडमा खेलाडीको दर्ता गरिसक्नुपर्ने प्रावधान भएकोले सकभर एउटा खेलमा स्तरीय तीन चार जना खेलाडीको दर्ता गर्ने र त्यहीमध्ये नवौँमा राम्रो गर्नेलाई एसियाडमा पठाउने पनि सदस्य सचिव घिसिङले बताउनुभयो ।

चार वर्षअघि इण्डोनेसियामा सम्पन्न १८औँ एसियाली खेलकुदमा २७ खेलका झण्डै २०० खेलाडीको सहभागिता थियो । नेपालले प्याराग्लाइडिङमा मात्र रजत पदक जितेको थियो ।

नवौँलाई बर्षाको चिन्ता

पोखरामा आयोजना हुन लागेको राष्ट्रिय खेलकुदका लागि बर्षाले प्रभाव पार्न सक्ने चिन्ता गरिएको छ । जेठको अन्तिममा बर्षा सुरु भईसक्ने र करोडौँ लगानीमा आयोजना हुने खेलकुदलाई बर्षाले प्रभावित वनाउन सक्ने देखिएको छ ।

सदस्य सचिव घिसिङले पटक–पटक सरेको खेलकुद जेठमा गर्नु खेलकुदका लागि अपरिहार्य भएको बताउनुभयो । ‘नवौँ पहिल्यै हुनु पर्ने हो । दुई बर्षमा गरिनुपर्ने खेलकुद तीन बर्ष वित्तापनि नगरिए कहिले गर्ने ? यो खेलकुद र खेलाडीका लागि आवश्यक छ । यसलाई राखेपले १४औँ सागको तयारीका रुपमा लिएको छ,’ घिसिङले भन्नुभयो । बर्षाले प्रभाव पार्ने क्रिकेट लगायत आउटडोर खेलको मिति आवश्यकता अनुसार वरपर सारिने पनि घिसिङले बताउनुभयो । बजेटका कारण नवौँ र एसियाड प्रभावित नहुने पनि राखेपको ठहर छ ।

२०७९ बैशाख १०, शनिबार मा प्रकाशित