९ राष्ट्रिय फुटबलरद्वारा प्रशिक्षक अल्मुताइरीविरुद्ध विद्रोह

एएफसी एसिया कप छनोट तेस्रो चरणको तयारीमा रहेका नेपाली रष्ट्रिय फुटबल टोलीका नौ जना खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध विद्रोह गरेका छन् । बन्द प्रशिक्षणका लागि दशरथ रंगशाला नजिकै होटलमा राखिएका ९ जना खेलाडीले प्रशिक्षक अल्मुताइरीको ब्यवहारप्रति असन्तुष्टि जनाउँदै प्रशिक्षण क्याम्प छाडेका हुन् ।

खेलाडीले मंगलबारनै होटल छाडेपनि बुधबार बिहान प्रशिक्षणमा नआएपछि टोली ब्यवस्थापनलाई थाहा भएको थियो । क्याम्प छाड्नेमा टोलीका सिनियर खेलाडी रोहित चन्द देखि अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, सुजल श्रेष्ठ, दीनेश राजवंशी, विशाल राई, सुमन लामा र विशाल श्रेष्ठ हुनुहुन्छ । टोलीका सिनियर खेलाडी चन्दले सुरुमा प्रशिक्षणका क्रममा खेलाडीको व्यवस्थापन राम्रो नभएको भन्दै असन्तुष्टि पोखेका थिए।

रोहित पछिल्लो केही दिनदेखि प्रशिक्षणमा नआएपछि प्रशिक्षक र रोहितबीच विवाद भएको थियो । विवादपछि रोहितले होटल छाडेको र रोहितसँगै अन्य खेलाडीले पनि होटल छाडेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रशिक्षण क्याम्प छाडेका खेलाडीसँग आफुले बुधबार कुरा गरेको बताए ।

‘खेलाडीले प्रशिक्षकसँग विवाद गरेर क्याम्प छाडेछन् । आज मैले भेटेर कुरा गरेको छु । बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङसहित सबै पक्ष बसेर छलफल गरिन लागिएको छ,’ शेर्पाले बताए।

खेलाडीले क्याम्प छाडेपछि टोलीका कप्तान किरण चेम्जोङले पनि मुख्य प्रशिक्षकको ब्यवहारप्रति आफ्नो असन्तुष्टि रहेको जनाएका छन् । उहाँले सामाजित सञ्जाल फेसबुकमा खेल्नुभएको छ- ‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको ब्यवहारप्रति मेरो असन्तुष्टि छ । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन । टोलीको कप्तान र एक सदस्यको हिसाबले म सँधै खेलाडीको पक्षमा छु ।’

कुवेतमा हुने एसियन कप छनोटको तयारीका लागि नेपाली टोलीले जेठ ११ र १५ गते कतारको दोहामा अफगानिस्तानसँग मैत्री पूर्ण फुटबल समेत खेल्न लागेको छ । प्रशिक्षक अल्मुताइरीले २५ जना खेलाडी छनोट गरी बन्द प्रशिक्षण र तयारी सुरु गरेका थिए ।

प्रशिक्षण क्याम्प सुरु गर्नुअघिनै अल्मुताइरीले पत्रकार सम्मेलनमार्फत नेपाल एसिया कपमा छनोट हुन नसक्ने बताएका थिए । तर प्रशिक्षकको भनाई प्रति तत्काल असन्तुष्टि जनाउँदै चन्द लगायत खेलाडीले आफुहरु छनोटका लागि सक्दो मिहेनत गरेर खेल्ने धारणा राखेका थिए ।

एएफसी एसिया कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । तुलनात्मक रुपमा नेपालका लागि यो कठिन समूह पनि हो । यस समूहमा नेपालसँगै कुवेत, जोर्डन र इन्डोनेसिया रहेको छ । छनोट खेल जुन ८ देखि १४ तारिखसम्म कुवेतमा हुनेछ । समूहको शीर्षटोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछन् ।

( साभार गोरखापत्र )

२०७९ बैशाख १५, बिहीबार मा प्रकाशित