डेब्युमा १५ वर्षीय लेग स्पिनर हिरान्मयी रोयले उत्कृस्ट बलिंग गर्दा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले युगान्डा बिरुद्ध पाँच खेलको घरेलु टि-२० सिरिजमा पहिलो जित दर्ता गरेको छ। यस अघि पहिलो ३ खेल जित्दै भ्रमण टोलिले सिरिज आफ्नो पक्षमा पारिसकेको छ।
१५ रनको जित दर्ता गर्ने क्रममा टियु अन्तर्राष्ट्रिय मैदानमा नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित १८ ओभरमा ८ विकेट क्षतिमा ८२ रन मात्र बनायो। युगान्डा बिरुद्ध यो नेपालको पहिलो टि-२० अन्तर्राष्ट्रिय जित हो।
लक्ष पछ्याउने क्रममा युगान्डाले १३ ओभरमा ५६ रन बनाउदा मात्र ३ विकेट गुमाएको थियो। त्यसपछिको ५ ओभरमा नेपालले उत्कृस्ट पुनरागमन गर्यो र थप २६ रन खर्चंदै ५ विकेट लियो।
नेपालको बलिंगमा डेब्यु गरेकी लेग स्पिनर हिरान्मयी रोयले ३ ओभरमा मात्र ११ रन खर्चेर २ विकेट हात पारिन्। रोय प्लेयर अफ द म्याच समेत घोषित भईन्। कविता कुँवर, अश्मिना कर्माचार्य र रुबिना क्षेत्रीले १/१ विकेट हात पारिन्। युगान्डाको लागि जेनेट एम बाब्जीले सर्वाधिक २१ तथा रिता न्यागेन्डो र इभिलिन एनीपियोले समान १६ रन बनाए।
टस जितेर ब्याटिंग गरेको नेपालले वर्षाका कारण १८ ओभरमा छोट्याईएको खेलमा १७.५ ओभरमा ९७ रनमा सम्पूर्ण विकेट गुमायो। ओपनर ज्योति पाण्डे र बिन्दु रावलले १७ र १६ रन तथा सिता राना मगरले ११ रन बनाउनु बाहेक अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। युगान्डा बलर कोन्सी अवेकोले ३ र सराह अकिटेंगले २ विकेट लिए।
सिरिज अन्तर्गत यस अघिको तिन खेल नेपालले क्रमशः १२ रन, १ विकेट र ६ विकेटले हारेको थियो। सिरिजको पाँचौ तथा अन्तिम खेल भोलि शनिवार खेलिनेछ।