एसिया कप छनोट: किरण पनि टिमबाहिर, चार खेलाडीलाई अवसर

एएफसी एसियन कप छनोटका लागि नेपालले राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शुक्रवार एसियन कप छनोट खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै टोलीको घोषणा गरेका हुन्।

मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै वैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । प्रशिक्षण छाड्नेमा रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, विमल घर्तिमगर, सुमन लामा, सुमन अर्याल र दिनेश राजवंशी रहेका छन् ।

छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरू कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरू जुन ८ देखि १४ सम्म हुनेछ ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।

२०७९ जेष्ठ ५, बिहीबार मा प्रकाशित