एसियन कप छनोट : इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग लज्जास्पद हार खेपेको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा मंगलबार राति भएको खेलमा नेपाल इन्डोनेसियासँग ७-० गोलले पराजित भयो ।

१० खेलाडीमा समेटिएको नेपालमाथि इन्डोनेसियाले खेलभर दबदबा कायम राख्यो । पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा पाँच गोल व्यहोरेको थियो । ३३औं मिनेटमा नेपालका रक्षक सुमन अर्यालले दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा इन्डोनेसियाले भरपुर उठायो ।

इन्डोनेसियाका लागि विटान सुलेमानले दुई गोल गरे । डिमास ड्राजाड, फेचरुदिन आर्यान्टो, सादिल रामदानी र इल्कान बागोट, मार्सिलेनो फर्डिनान्डले एक एक गोल गरे । लगातार तेस्रो हारसँगै समूह ‘ए’ मा नेपाल तालिकाको अन्तिममा रह्यो ।

नेपाल पहिलो खेलमा जोर्डनसँग २–० र दोस्रो खेलमा कुवेतसँग ४–१ गोलले पराजित भएको थियो । जोर्डन नौ अंक सहित समूह ‘ए’ को विजेता बन्दै एसियन कपमा छनोट भयो । ६ अंक बनाएको इन्डोनेसिया दोस्रो र तीन अंकसहित कुवेत तेस्रो स्थानमा रह्यो । एएफसीका अनुसार समूहको शीर्षटोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसियन कपका लागि छनोट हुनेछन् ।

२०७९ असार १, बुधबार मा प्रकाशित