राखेपद्वारा खेलकुद विश्वविद्यालय कार्यदल गठन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदको समग्र विकासका लागि खेलकुदसम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनु पर्ने आवश्यकतालाई मध्यनजर गरी खेलकुद विश्वविद्यालयसम्बन्धी कार्यदल गठन गरेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ को उपदफा १ अनुसार ध्रुवबहादुर प्रधानको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलका सदस्यहरुमा गीता क्षेत्री राणा, युवराज लामा, रमेशराज पन्त, ओमकृष्ण प्रसाईं, डा. शुभेन्दु गुप्ता, रवि राजकर्णिकर, सूर्यबहादुर अधिकारी, नीलेन्द्रराज श्रेष्ठ, सुमन डिसी, सुजिना गुरुङ, डा. अचुतम लामिछाने र हरिहर श्रेष्ठ रहनुभएको छ ।

राखेप सदस्य सचिव टङ्कलाल घिसिङले उहाँहरुलाई मङ्गलबार पत्र हस्तान्तरण गर्नुभयो । उक्त अवसरमा सदस्यसचिव घिसिङले भन्नुभयो– ‘योजना बनाउन जति जरुरी छ, त्योभन्दा पनि अझ महत्वपूर्ण पाटो योजनालाई कार्यान्वयन तहमा पु¥याउनु हो । कार्यदलमा विज्ञ र अनुभवी महानुभावहरु हुनुहुन्छ । यहाँहरुबाट मैले धेरै आशा गरेको छु ।’

( साभार – गोरखापत्र )

२०७९ असार ७, मंगलवार मा प्रकाशित