मलेसियामा जारि एसीसी महिला टि-२० प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेल वर्षाका कारण पुरा हुन नपाउदा समुह चरणको प्रदर्शनको आधारमा युएई फाइनल प्रवेश गर्नुको साथै महिला एसिया कप खेल्न समेत छनोट भएको छ।
किनरारा ओभलमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्य्टिंग गरेको युएईले १९.५ ओभरमा ८१ रनमा सबै विकेट गुमाएपछि जित्न नेपालले ८२ रनको लक्ष्य पायो। तर मैदानमा भारि वर्षा भएपछि दोश्रो इनिंग्सको खेल संचालन हुन पाएन। त्यसपछि समुह चरणमा आफ्नो समुह ‘ए’ को विजेता भएको युएईलाई त्यसैको आधारमा अघिल्लो चरणमा प्रवेश दिईएको हो। नेपाल समुह चरणमा समुह ‘बि’ को उपविजेता हुँदै सेमीफाइनल पुगेको थियो जुन क्रममा हंगकंगसंग एक खेलमा हार बेहोरेको थियो भने अन्य तिन खेल जितेको थियो।
योसंगै नेपालको यो वर्ष पहिलो पटक महिला टि-ट्वान्टी एसिया कप खेल्ने सपना समाप्त भएको छ। एसीसी टि-२० को फाइनल प्रवेश गरे दुई टिम उक्त प्रतियोगिता खेल्न छनोट हुनेछन्। महिला एसिया कप टि-२० अक्टोबरमा हुने बताईएको छ।
खेलमा बलियो युएई बिरुद्ध नेपालले उत्कृस्ट बलिंग प्रदर्शन गरेको थियो। अश्मिना कर्माचार्यले व्यक्तिगत उत्कृस्ट स्पेल तथा नेपाली महिला टि-ट्वान्टी अन्तर्राष्ट्रियकै तेश्रो उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा ३.५ ओभरमा मात्र १० रन खर्चेर ५ विकेट लिंदा युएईको ब्याटिंग तहसनहस भयो। यस्तै इन्दु बर्माले पनि उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिईन्। सिता राना मगरले २ विकेट हात पारिन्। युएईको लागि वैष्णवी महेशले सर्वाधिक १६, इशा रोहितले १५, छाया मुगलले १४ रन योगदान दिए।
प्रतियोगिताको दोश्रो सेमीफाइनलमा आज मलेसिया र हंगकंग प्रतिस्पर्धा गर्दैछन् जसको विजेता युएईसंगै महिला एसिया कप टि-२० खेल्न छनोट हुनेछ।