शंकरदेवको अध्यक्षतामा काठमाडौं आइटिएफ संघ

शंकरदेव श्रेष्ठको अध्यक्षतामा रहेको नेपाल आइटिएफ काठमाडौं जिल्ला संघले पूर्णता पाएको छ ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिले पूर्वखेलाडी शंकरदेवको अध्यक्षतामा रहेको काठमाडौं जिल्ला आइटिएफ तेक्वान्दो संघलाई मान्यता दिएको हो । मंगलबार आयोजित एक कार्यक्रमका बीच काठमाडौं जिल्ला खेलकुद विकास समितीका अध्यक्ष गणेशलाल कक्षपतिले निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यलाई फूलमाला र खादा लगाएर बधाई दिएका थिए ।

यसअघि एक भेलाले शंकरदेवको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नेपाल आइटिएफ काठमाडौं जिल्ला संघको तदर्थ कमिटी गठन भएको थियो । तर, जिल्ला खेलकुद समितिले मंगलबार मान्यता दिएसंगै काठमाडौं जिल्ला आइटिएफ संघले पूर्णता पाएको हो ।

निर्वाचित अध्यक्ष शंकरदेव आइटिएफ तेक्वान्दोका पाँचौं डान प्राप्त खेलाडी समेत हुन् । नेपाल आइटिएफ काठमाडौं जिल्ला संघको उपाध्यक्षमा सरोज ठकुरी र सचिवमा रितिज पुरी निर्विरोध निर्वाचित भए । कोषाध्यक्षमा डेविड घलेले जिम्मेवारी पाएका छन् ।

त्यस्तै सदस्यहरू निस्मा बस्याल, सचिना सुनार, रञ्जन श्रेष्ठ, कर्साङ दोर्जे, स्याङ्का तामाङ ,रन्जु पुलामी मगर र सर्मिला परियार छन् । निस्मा एसियन च्याम्पियनसिपका पदक विजेता समेत हुन् । निर्वाचित कार्यसमितिको पहिलो बैठकले सुदेव पण्डित, गोपाल श्रेष्ठ र नीरञ्जन सेढाईंलाई सल्लाहकारमा चयन गरेको छ ।

२०७९ असार २१, मंगलवार मा प्रकाशित