नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले साफ यू–२० च्याम्पियनसिपको उपाधि जित्ने दाबी गरेका छन् ।
भुवनेश्वरमा आज भएको प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक केसीले नेपाली टोलीको तयारी पुरा भएको र उपाधि जित्नेमा विश्वस्त रहेको बताएका हुन् । करिब २ महिनादेखी टोलीले तयारी थालेको र यस टोलीबाट धेरै अपेक्षा गरिएको उनले बताए । कोरोना महामारीका कारण पछिल्लो २ वर्षदेखी उमेर समुहका प्रतियोगिता नभएका कारण यस पटक खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको थियो । “नेपालमा मात्र नभई दक्षिण एसियामै उमेर समुहका खासै प्रतियोगिता भएको छैन्,” प्रशिक्षक केसीले भने “अन्य टोलीमा पनि थुप्रै परिवर्तन भएको कारण प्रतिद्धन्दीका विषयमा खासै जानकारी छैन । तर हामी यहाँ जित्न आएका हौं । ”
त्यस्तै, कप्तान आयुष घलानले यस प्रतियोगिताका लागि टोली तयार रहेको बताए । यस प्रतियोगिताका लागि कडा प्रशिक्षण गरेकोर ३ अंकका लागि खेल्ने कप्तान आयुषले बताए । प्रतियोगिताको पहिलो खेलमा नेपालले भोली माल्दिभ्ससँग खेल्नेछ । भुवनेश्वरको कालिंगा रंगशालामा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे हुनेछ ।
पत्रकार सम्मेलनमा माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागिपनि नौलो रहेको कारण खेल्न कठिन हुने बताए । तर टोलीमा रहेका अधिकांश खेलाडी माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिरहेको कारण नतिजा आफ्नो पक्षमा आउने उनको विश्वास छ ।
यसअघि १९ र १८ वर्षको उमेर समुहमा हुँदै आएको यस प्रतियोगिता यस पटक २० वर्ष मुनिको उमेर समुहमा हुन लागेको हो । यसअघि नेपालले सुरुवाती दुई संंस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो । प्रतियोगितामा नेपालले दोसे खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । राउण्ड रोविन लिग पछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।