लिटिल एन्जल्स च्याम्पियन

छैठौं सुशील केडीया स्मृति अन्तर बिद्यालय फुटसल प्रतियोगिताको उपाधि ललितपुरको लिटिल एन्जल्स स्कुलले जितेको छ।

जावलाखेल स्थित डीएभी स्कुलमा सम्पन्न फाइनलमा लिटिल एन्जल्सले नेपाल पुलिस स्कुललाई ३-१ गोल अन्तरले पराजित गर्यो। सुरुवाती गोल पुलिस स्कुलले गरेता पनि खेलमा उत्कृस्ट पुनरागमन गर्दै लिटिल एन्जल्सले लगातार दोश्रो पटक उपाधि जित्न सफल रह्यो। 

लिटिल एन्जल्सको लागि भार्गभ सिलवाल, सुवर्ण बस्नेत र लक्ष्य महर्जनले गोल गरे। पुलिस स्कुलका राम थापाले एक गोल गरे। 

शुक्रबारनै सम्पन्न सेमीफाइनलमा पुलिसले गान्धी आदर्श स्कुललाई २-१ ले तथा लिटिल एन्जल्सले ग्रिनफिल्ड स्कुललाई ३-१ ले पराजित गर्दै फाइनल पुगेको थियो। तेश्रो स्थानको लागि भएको खेलमा ग्रीनफिल्डले गान्धी आदर्शलाई ३-१ ले पराजित गर्यो। 

प्रतियोगिताको सर्वाधिक गोलकर्ता नेपाल पुलिस स्कुलका लक्ष्मण थानी भए भने उत्कृस्ट गोलकिपरको अवार्ड ग्रिनफिल्डका आदित्य थापाले जिते। प्रतियोगिताको उदयमान  खेलाडी लिटिल एन्जल्सका भार्गभ सिलवाल घोषित भए। गान्धी आदर्श इन्टरनेसनल स्कुलले फेयरप्ले अवार्ड प्राप्त गर्यो। विजेता खेलाडीहरुलाई राष्ट्रिय फुटबलर गौतम श्रेष्ठले पुरस्कृत गरे भने सोहि अवसरमा श्रेष्ठलाई सम्मानित समेत गरिएको थियो। 

तिन दिन चलेको प्रतियोगितामा उपत्यकाका १६ स्कुलका टिम सहभागी थिए। यस अघि आयोजित इन्डोर क्रिकेटको उपाधि आयोजक डीएभी स्कुलले जितेको थियो। 

२०७९ आश्विन ७, शुक्रबार मा प्रकाशित