एएफसी यु–१७ एसियन कप छनोट : नेपालको लगातार दोस्रो हार

काठमाडौं, असोज २२ गते । भियतनाममा जारी एएफसी यु–१७ एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार खेपेको छ । शुक्रबार राति भएको खेलमा नेपाल आयोजक भियतनामसँग ५–० गोलले पराजित भयो । नेपाल यसअघि थाइल्यान्डसँगको पहिलो खेलमा ३–० गोलले पराजित भएको थियो ।

भियतनामको जितमा कप्तान एनगुएन कोङओङले सातौँ, बुई होआङ सनले १२औँ, भि थिनले १६औँ, लि डिङ लोङ भुले २९औँ र हुयान भान थान्हले इन्जुरी समयमा गोल गर्नुभयो । भियतनाम पहिलो खेलमा चाइनिज ताईपेइलाई ४–० गोलले हराएको थियो ।

शुक्रबार नै भएको अर्को खेलमा थाइल्यान्डले चाइनिज ताईपेइलाई ३–१ गोलले हराएको थियो । शुक्रबारको खेलसँगै समूह एफमा लगातार दुई जित निकालेको आयोजक भियतनाम ६ अंकसहित शीर्षस्थानमा छ । समान ६ अङ्क बनाएको थाइल्यान्ड दोस्रो स्थानमा छ ।

नेपाल र साथ भियतनाम शीर्षस्थानमा रहेको छ । समान ६ अंकका साथ थाइल्यान्ड दोस्रो स्थानमा छ । नेपाल र चाइनिज ताईपेइ अङ्कविहीन छ । नेपालले आइतबार चाइनिज ताईपेइसँग खेल्नेछ । छनोट खेलमा एसियाका ४४ राष्ट्रले १० अलग अलग समूहबाट प्रतिस्पर्धा गरेका छन् ।

छनोट खेलको समूह विजेता टोली एसियन कपमा छनोट हुनेछ । उत्कृष्ट ६ उपविजेता टोलीले समेत एसियन कपमा स्थान बनाउनेछन् ।

२०७९ आश्विन २८, शुक्रबार मा प्रकाशित