आयोजक सुनापतीलाई तीन स्वर्ण

रामेछाप, पुस ९ (नागरिक)– आयोजक सुनापती तेक्वान्दो एकेडेमीले १२ औं जुनियर राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा शनिबार पहिलो दिन तीन स्वर्ण पदक जितेका छन् ।

रामेछापको सुनापती गाउँपालिकाको केन्द्रमा शनिबारदेखि सुरु भएको प्रतियोगितामा शशी मोक्तान, सुशान्त ज्ञापक र प्रमिला थापामगरले स्वर्ण जितेका हुन् । फाइटतर्फ महिलामा प्रमिला थापामगरले महिला ३५–४० केजी तौल समूहमा र शशी मोक्तानले २० देखि २५ केजी तौलसमूहमा स्वर्ण जितेका थिए ।

पुरुषतर्फ सुशान्तले ३०–३५ केजी तौलसमूहमा स्वर्ण जितेको आयोजक सुनापती तेक्वान्दो एकेडेमीका अध्यक्ष बाबुराम तामाङले जानकारी दिए । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव टंकलाल घिसिङले रेफ्री कमिसन प्रमुख तथा नेपाल आइटिएफका उपाध्यक्ष प्रवीणकुमार कार्कीलाई खेलसामग्री वितरण गर्दै उद्घाटन गरेका थिए ।

सो अवसरमा सदस्यसचिव घिसिङले सुनापतीमा बनाइने भौतीक संरचना र स्कुल स्पोर्ट्सको बारे चर्चा गरेका थिए । सदस्यसचिव घिसिङ पनि यही क्षेत्रका बासिन्दासमेत हुन् । उद्घाटन समारोहमा गाँउपालिकाका अध्यक्ष ठूलाकान्छा तामाङ तथा उपाध्यक्ष गीता विस्टको पनि उपस्थिति रहेको थियो । प्रतियोगिता संयोजक बाबुराम तामाङले प्रतियोगिताको स्पाइरिङतर्फ १६ तथा प्याट्रनमा १० गरी २६ तौल समूहमा प्रतिस्पर्धा हुने जानकारी दिए । प्रतियोगिताको लागत रकम १३ लाख रुपैयाँ छ । प्रतियोगिातामा सात प्रदेश र आयोजक गरी एक सय २८ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको खेल आइतबारसम्म चल्नेछ । सुनापतीमा पहिलोपटक राष्ट्रिय प्रतियोगिता भएको आयोजकले जानकारी दिएको थियो ।

२०७९ पुष ९, शनिबार मा प्रकाशित