भुटानी फुटबल टोली नेपालमा

प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि भुटानको राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेका छन् ।

भुटानी टोली सोमबार बिहान नेपाल आइपुगेका हुन् । भुटानी टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता सुरेश शाह लगायतले स्वागत गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् । लाओसको टोली सोमबार नै नेपाल आइपुग्ने छन् ।

सिङ्गल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् । त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् ।

नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको प्रशिक्षणमा प्रतियोगिता खेल्नेछ ।

यस अघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । फाइनलमा बङ्गलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।

२०७९ चैत्र ६, सोमबार मा प्रकाशित