हरिहजुर थापा भलिबलको कप्तानबाट हटाइए

नेपाल भलिबल संघले कप्तान हरिहजुर थापालाई राष्ट्रिय टिमको जिम्मेवारीबाट हटाएको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा जारी सातौ सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा दर्शकमाथि भएको दुर्व्यवहारसँग जोडिएको घटनाका कारण थापालाई राष्ट्रिय टोलीको कप्तानबाट बर्खास्त गरिएको हो ।

प्रतियोगिताको क्रममा गत सोमबार गण्डकी र त्रिभुवन आर्मी क्लबबीचको खेलमा आर्मीका खेलाडीहरूले कभर्ड हलमा रहेका दर्शकमाथि हातपात गरेका थिए । आर्मीको टोलीको कप्तान रहेका थापाले यो घटनामा कुनै खेल भावनाको भूमिका निर्वाह नगरेको निष्कर्ष निकालिएको छ ।

घटनापछि गठित ५ सदस्यीय छानबिन समितिले बुझाएको प्रतिवेदन र दिएको सिफारिसको आधारमा कप्तान थापालाई नेपाल भलिबल संघले जिम्मेवारीबाट हटाएको हो ।

छानबिन समितिको सिफारिसको आधारमा सो दिनको खेलमा रेफ्रीको भूमिकामा रहेका चित्र गुरुङ र अनिल रानालाई पनि कारबाही गरेको छ । कारबाही स्वरूप उनीहरूले अब क्लब च्याम्पियनसिप र क्लब लिगमा निर्णायकको भूमिका निर्वाह गर्न नपाउने भएका छन् ।

२०८० श्रावण १, सोमबार मा प्रकाशित