ओलीको निर्णायक गोलमा इंग्ल्यान्ड फाइनलमा, उपाधीका लागि स्पेनसँग खेल्ने

काठमाडौं। ओली वाटकिन्सले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गर्दै इंग्ल्यान्डलाई लगातार दोस्रो पटक युरो कपको फाइनलमा पुर्‍याएका छन् ।

जर्मनीको सिग्नल इडुना पार्कमा बिहीबार बिहान सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई २-१ गोलअन्तरले पराजित गर्दै इंग्ल्यान्ड लगातार दोस्रो पटक उपाधिनजिक पुगेको हो।

नेदरल्यान्ड्सले खेलको सातौं मिनेटमै खेलमा सुरुआती अग्रता लिएको थियो। जावी सिमोन्सले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

तर, १८औं मिनेटमा ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए । खेल बराबरीतर्फ उन्मुख थियो। तर, दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा ओलीले गोल गर्दै इङ्ल्यान्डलाई जित दिलाए ।

इंग्ल्यान्डले उपाधीका लागि सोमबार स्पेनसँग खेल्नेछ ।

२०८१ असार २८, बिहीबार मा प्रकाशित