काठमाडौं । आगामी अगस्टमा काठमाडौमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० च्याम्पियनसिपमा नेपालको पहिलो खेल श्रीलंकाविरुद्ध रहेको छ ।
पाकिस्तानले च्याम्पियनसिपबाट नाम फिर्ता लिएसँगै साफले बिहीबार नयाँ खेल तालिका जारी गरेको हो । नयाँ तालिकाअनुसार अब समूह ए र बी दुवैमा ३–३ टिम छन् । यसअघि समूह ए मा रहेको पाकिस्तान हटेपछि अब नेपाल, श्रीलंका र बंगलादेश यस समूहमा छन् । समूह बी मा भारत, माल्दिभ्स र भुटान छन् ।
साफ यू-२० च्याम्पियनसिप अगष्ट १८ देखि २८ सम्म काठमाडौंमा हुनेछ । उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग खेल्ने छ । यस्तै नेपालले बंगलादेशसँग अगष्ट २२ मा खेल्ने छ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
