काठमाडौं । नेपालले काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा फाइनल प्रवेश गर्न सोमबार किर्गिस्तानको सामना गर्दैछ ।
नेपाल र किर्गिस्तानबीचको सेमिफाइनल सोमबार राति नेपाली समय अनुसार सवा ९ बजे सुरु हुनेछ।
नेपाल लिग चरणमा किर्गिस्तानविरुद्ध सोझो सेटमा पराजित भएको थियो । सेमिफाइनलमा त्यो हारको बदला लिँदै फाइनलमा पुग्ने लक्ष्यमा नेपाल हुनेछ ।
लिग चरणमा दोस्रो भएको किर्गिस्तान र तेस्रो भएको नेपालबीच दोस्रो सेमिफाइनल हुने भएको हो ।
यस्तै, लिगमा पहिलो भएको श्रीलंका र चौथो भएको माल्दिभ्सबीच पहिलो सेमिफाइनल हुनेछ । पहिलो सेमिफाइनल नेपाली समय अनुसार पौने पाँचमा बजे हुनेछ।